विराटनगर : सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बनाउने निर्णय गरेपनि अहिलेसम्म गठबन्धनमा बहुमत पुग्ने अवस्था छैन् । ६ सिट रहेको राप्रपाले समर्थन नगरेसम्म कोशीमा कांग्रेसको सरकार बन्ने अवस्था छैन् ।
नेकपा एमालेको नेतृत्वमा रहेका कोशी प्रदेश सरकारले विश्वासको मत नपाएरसँगै प्रदेश प्रमुखले असार २१ गतेसम्मको समय दिएर नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार सरकार निर्माणका लागि आह्वान गरेका हुन् ।
सत्तागठबन्धनको तर्फबाट कोशीमा माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको थियो । तर, केन्द्रीय नेताहरुबीच कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति बनेको हो ।
कांग्रेसलाई भने कोशीमा राप्रपाको साथबिना बहुमत पुर्याउन सकस छ । किनकी ९३ सदस्यीय कोशी प्रदेशसभामा गठबन्धनसँग कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सांसद छन् । तर, सभामुखले मत बराबर भएको अवस्थामा मात्र निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा सत्ता गठबन्धनसँग ४६ सांसद मात्र छन् । कोशीमा ४७ सांसद हुँदा बहुमत पुग्छ ।
त्यहीमाथि एक सिट रहेको जनता समाजवादी पार्टी जसपाले पनि कोशी नामकरणमा असन्तुष्टि जनाउँदै पहिचानको आधारमा पुनः नामकरण गर्ने प्रतिवद्धता नगरसम्म सरकालाई समर्थन नगर्ने अडान लिँदा सरकार गठनमा कांग्रेसलाई झन सकस परेको छ । जसपा प्रदेश समितीका अध्यक्ष दीपक योख्खाले कांग्रेसले पहिचानको आधारमा पुनः नामकरण गर्ने प्रतिवद्धता जनाए मात्रै सरकालार्र समर्थन गर्ने बताए । उनले भने, ‘ पहिचानको आधारमा पुनः नामकरण हुनुपर्छ भनेर हामी सडक संघर्षमा छौँ, केन्द्रले कांग्रेसलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ तर, हाम्रो माग सम्बोधन नभएसम्म हामी कसैलाई पनि समर्थन गर्दैनौँ ।’
आफ्नो भागमा मुख्यमन्त्री परेपछि स्पष्ट बहुमत नभएको कांग्रेसले निर्णायक रहेको राप्रपालाई फकाउने प्रयास गरिरहेको छ । त्यसका लागि सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द् लिङ्देनबीच छलफल भएको छ ।
छलफलका क्रममा देउवाले आफूसँग सहयोग मागेको लिङ्देनले जानकारी दिए । कोशी सरकार गठनको विषयमा देउवासँग छलफल भएपनि अहिलेसम्म कुनै ठोस सहमति नभएको लिङ्देनले बताए ।
प्रदेशमा कसरी अघि बढ्ने भन्ने विषयमा राप्रपाले निर्णय गर्न बाँकी रहेको उनको भनाइ छ ।
तर, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले राप्रपाबाहेक पनि ४७ सांसद आफूहरुको पक्षमा रहेको दाबी गरे । सभामुखसहित गठबन्धनको बहुमत पुग्ने उनको तर्क थियो ।
राप्रपा र कांग्रेसका शीर्ष नेताहरुको छलफल जारी रहेको बताउँदै उनले राप्रपाले पनि समर्थन गर्ने बताए । उनले भने, ‘राप्रपासहितको हस्ताक्षर लिएर प्रदेश प्रमुखकहाँ सरकारको दाबी गर्न हामी जान्छौ ।’
राप्रपा अहिले एमालेसँग निकट छ । कोशीमा पनि हिक्मतकुमार कार्की नेतृत्वको सरकालाई राप्रपा सुरुदेखि नै समर्थन गरिरहेको छ । अलपमतमा रहेको सरकारले अध्यादेशबाट बजेट ल्याउँदा पनि कोशीमा राप्रपाले एमालेलाई समर्थन जारी राखेको थियो । राप्रपाका तर्फबाट संसदीय दलका नेता भक्ति सिटौला सरकारमा सहभागी भएका थिए ।
तर, कांग्रेस संसदीय दल नेता थापा र राप्रपाका सिटौलाबीचको सम्बन्ध तिक्ततापूर्ण रहेको गठबन्धन दलका नेताहरुले नै बताउने गरेका छन् । उनीहरु दुवै जना झापाका हुन् । कांग्रेसका प्रदेश सभापतिसमेत रहेका थापा कांग्रेसको सिटौला समूहका हुन् । राप्रपा संसदीय दल नेता सिटौला भने १० वर्षअघि कांग्रेस छाडेर राप्रपा प्रवेश गरेका थिए । उनले कांग्रेस छाड्नुको प्रमुख कारण कृष्णप्रसाद सिटौलासँगको अन्तद्र्वन्द्व हो । यसकारण पनि राप्रपाले कांग्रेसलाई सहजै समर्थन गर्ने अवस्था नरहेको राप्रपाका एक सांसदले बताए ।