विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनले नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
सोमबार काठमाडौंमा बसेको केन्द्रीय नेताहरुको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
मुख्यमन्त्री बन्ने विषयमा माओवादीले पनि दाबी प्रस्तुत गरेपनि ठूलो दलको हिसाबले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने निर्णय भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । बैठकपछि पत्रकाहरुसँग उनले भने, हामी गठबन्धनमा भएको दलहरुको तर्फबाट नेपाली कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सल्लाह दिने निर्णय भएको छ ।’
कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते अपरान्ह ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
अहिले प्रदेशमा सरकार बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णायक भूमिकामा रहेको छ । प्रदेशसभामा राप्रपाका ६ जना सांसद छन् । यस्तो अवस्थामा राप्रपालाई गठबन्धनमा सामेल गराएर सरकार बनाउने गठबन्धनको तयारी छ ।
यसअघि माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए । आङ्बोले पनि दाबी गरेपछि सहमति जुटाउन नेताहरू काठमाडौं आएका थिए ।