Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको कुरा नमिल्दा कोशीमा मध्यावधिको सम्भावना



विराटनगर : कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेसँगै विपक्षी गठबन्धनले सरकार बनाउन रस्साकस्सी सुरु गरिरहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादीसहित गठबन्धन दलका शिर्ष नेताहरु अहिले काठमाडौंमा छन् ।

मुख्यमन्त्री बन्नका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने लाइनमा छन् । उनीहरुले सत्ता गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते अपरान्ह ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । तर, अझै गठबन्धन दलहरुबीच प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति भइसकेको छैन् ।

अहिले प्रदेशमा सरकार बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णायक भूमिकामा रहेको छ । प्रदेशसभामा राप्रपाका ६ जना सांसद छन् । यस्तो अवस्थामा राप्रपालाई गठबन्धनमा सामेल गराएर सरकार बनाउने कांग्रेस र माओवादीको रणनीति छ ।

माओवादी केन्द्रले वर्तमान सरकारबाट पार्टीले विश्वासको मत फिर्ता लिएका कारण आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरिरहेको छ । माओवादीले आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था राप्रपाले समेत साथ दिने बताउँदै आएको छ ।

कांग्रेसले पनि आफ्नो नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने दाबी गर्दै आएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आफू मुख्यमन्त्री बन्ने अवस्था आए राप्रपाको समर्थन रहने बताउँदै आएका छन् । राप्रपा भने कांग्रेससँग त्यति सकारात्मक देखिएको छैन् । यस्तो अवस्थामा कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्री दाबी गर्नु नहुने माओवादी नेताहरुको तर्क छ ।

माओवादी प्रदेश तहका एक नेता भन्छन्, ‘कांग्रेसले प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको विषयमा ल्याङल्याङ गरिरहेको छ , यसले मध्यावधितिर धकेल्ने सम्भावना छ ।’ ती नेताले कांग्रेसले माओवादीलाई मुख्यमन्त्री नछाडे कोशीमा मध्यावधि निर्वाचन हुन सक्ने बताए ।

माओवादी केन्द्रका प्रदेश सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेती कांग्रेसले माओवादीलाई मुख्यमन्त्री छाड्नुपर्ने बताउँछन् । पूर्वेलीप्रेससँग उप्रेतीले भने, ‘हामीले हिजो एमाले नेतृत्वको सरकारमा सहभागी भएर पनि समर्थन फिर्ता लिएका कारण पनि माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्नुपर्छ ।’

९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० सांसद छन् । उसलाई राप्रपाको समर्थन रहँदा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत लिँदा ४६ मत पाए । प्रदेशमा राप्रपाका ६ जना सांसद छन् । बहुमतका लागि ४७ सांसद चाहिन्छ ।

नेपाली कांग्रेससँग २९, सभमुखसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) को एक सांसद छन् । तर, कोशी प्रदेशको नामकरण भएसँगै विरोध गरिरहेको जसपाले पहिचानका आधारमा नामकरण नभएसम्म सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने घोषणा गरिसकेका कारण सरकार गठनमा जटिल छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार