विराटनगर : एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ । एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएसँगै अब प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने अड्कलबाजि सुरु भएको हो ।
शुक्रबार भएको मत विभाजन कार्कीले ४६ मत मात्रै पाएपछि एमाले नेतृत्वको एकमात्र कोशी प्रदेश सरकार ढलेको हो । उनले ४६ मत मात्र प्राप्त गरे । प्रदेशमा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ । कार्कीले एमाले र राप्रपाको मत पाएका हुन् ।
एक सांसद नपुग्दा सरकारले विश्वासको मत गुमाउँदा विपक्षी गठबन्धनलाई पनि सरकार बनाउन सहज भने छैन् । विपक्षी गठबन्धनलाई सरकार बनाउन एमालेसँग सहकार्य गरिरहेको राप्रपाले समर्थन गर्न जरुरी छ ।
गत पुस २५ गते एमालेसहित नेकपा माओवादी, राप्रपा र जसपाको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । तर, सत्ता साझेदार नेकपा माओवादी र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारले विश्वासको मत लिन नसकेका हुन् ।
केन्द्रीय गठबन्धनमा आवद्ध दलहरुसँग सभामुखसहित ४७ सांसद छन् । कांग्रेसका २९, सभामुखसहित माओवादी १३, नेकपा एकीकृत समाजवादी ४ र जसपासँग एक सांसद छन् । तर, मत विभाजनमा सभामुखले भाग लिन नपाउने संवैधानिक व्यवस्था छ ।
कोशी नामकरणको विषयमा असन्तुष्टि जनाउँदै आएको जसपाले पहिचानको आधारमा नामकरण नभए कुनै गठबन्धनलाई सरकार बनाउन सहयोग नगर्ने निर्णय गरेको छ ।
कांग्रेस र माओवादीले राप्रपालाई नयाँ गठबन्धनमा ल्याएर सरकार बनाउन जोडबल गरिरहेका छन् । राप्रपाले पनि यस विषयमा कुनै निर्णय लिइसकेको छैन् ।
शनिबार राप्रपा कोशीका प्रदेशसभा संसदीय दलका नेता, सांसदहरु तथा पार्टीका पदाधिकारीहरुसहित अध्यक्ष राजेन्द्र लिङ्देनले झापामा सरकारमा सहभागीताका विषयमा छलफल गरेका थिए । छलफलले सरकारमा सहभागिताको निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको राप्रपा सांसद अम्बरबहादुर बिष्टले जानकारी दिए ।
उनका अनुसार प्रदेशमा कसरी अघि बढ्ने भन्ने बारेमा लिङ्देनले निर्णय लिनेछन् । अहिलेनै राप्रपा मध्यावधि निर्वाचनको पक्षमा नरहेको उनले बताए ।
तर, गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादीबीच कसको नेतृत्वमा सरकार बन्ने बिषयमा छलफल जारी रहेको बताइएको छ । आफ्नै नेतृत्वमा सरकार बनाउन उनीहरूले पहल गरिरहेका छन् ।