Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा राप्रपाले एमालेसँगको सहकार्य जारी राख्ने



विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई निरन्तरता दिन प्रयास गर्ने भएको छ ।

सत्ता साझेदार नेकपा माओवादी र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मत कार्कीले आजको प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।

कोशीमा राप्रपा र एमालेबीचको सहकार्य चुनावदेखि नै कायम रहेकाले यहि सरकारलाई निरन्तरता दिन आफूहरूले सक्दो प्रयास गर्ने राप्रपा सांसद अम्बर बिष्ट बताउँछन् ।

‘एमालेसँग चुनावबाट नै हामीले सहकार्य गरिरहेका छौँ, त्यसैले पहिलो प्राथमिकता हामीले एमालेलाई न‌ै दिन्छौं,’ उनले भने, ‘आज सरकारलाई विश्वासको मत दिएर अघि बढ्छौ ।’

एमालेसँगको सहकार्य जारी रहने उनलेे संकेत गरेका छन् ।

राप्रपा संसदीय दलका नेता तथा सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटौलाले एमालेसँग सहकार्य गर्ने भन्ने विषयमा पार्टीभित्र कुनै मतभेद नरहेको बताए । उनले भने ‘हामीले चुनावदेखि नै सहकार्य गरेर आएका छौं, हामीबिचको यो सहकार्य पूर्णकालसम्मै रहन्छ ।’

उनले मुख्यमन्त्री कार्कीले आजको कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाउने बताए । उनले भने, ‘हामी सत्ता साझेदार दलका रूपमा छौं । चुनावअघिदेखिकै सहमति भएकाले यो सरकार ५ वर्ष टिकाउनु हाम्रो कर्तव्य हो ।’

दुई दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीको पक्षमा अहिले ४६ सांसद छन् । उनलाई एमालेका ४० र राप्रपाका ६ सांसदको समर्थन छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ ।

उता केन्द्रीय गठबन्धनमा आवद्ध दलहरुसँग सभामुखसहित ४७ सांसद छन् । कांग्रेसका २९, सभामुखसहित माओवादी १३, नेकपा एकीकृत समाजवादी ४ र जसपासँग एक सांसद छन् । तर, मत विभाजनमा सभामुखले भाग लिन नपाउने भएकाले दुवै समूहमा ४६/४६ सांसद छन् ।

वर्तमान सरकार टिकाइराख्न एक जना सांसद अपुग रहेकाले विभिन्न सम्भावनाहरूको बारेमा एमालेले छलफल गरिरहेको छ । विपक्षीमा रहेका दलहरुसँग पनि स्पष्ट बहुमत नभएकाले साझा सरकार बनाएर जाने विषयमा पनि एमालेले छलफल अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार