विराटनगर : खोटाङको एक विद्यालयमा प्रधानाध्यापकलाई हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर बाकाचोलको बौद्ध आधारभुत विद्यालयका प्रधानाध्यापक बल बहादुर दाहाललाई विद्यालय हाताभित्र हातपात गर्ने सोही ठाउँका ४८ वर्षीय सन्तबिर तामाङ पक्राउ परेका हुन् ।
दाहालले आफ्नो मान्छेलाई सेटिङ गरेर विद्यालयमा शिक्षक बनाएको भन्दै तामाङले हातपात गरेको स्रोतले बताएको छ ।
प्रधानाध्यापकले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएलगत्तै तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डीएसपी मन्जिल मुकारुङले जानकारी दिए ।
अभद्र व्यबहारसम्बन्धी मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाइएको उनले बताए ।
पीडित प्रधानाध्यापक दाहालले भने विद्यालयमा शिक्षक राखिएको तर आफ्नो मान्छे नभई गाउँपालिकाको कार्यपालिकालिकाको निर्णय अनुसार शिक्षक नियुक्ति गरिएको बताए । राहत दरबन्दी कोटामा कुमार तामाङलाई नियुक्ति गरिएको छ । पालिकाले विस्थापित शिक्षकलाइ स्थापित गर्नु भनेपछि उनलाई पुनः बिज्ञापन खुलाएरै शिक्षकको नियुक्ति दिएको दाहालले बताए ।
राजनैतिक मिलेमतोमा सेटिङ गरेर शिक्षक राखिएको भन्दै तामाङले आफुलाई हातपात गरेको उनको भनाई छ । तामाङ बाकाचोलका पुर्व वडाध्यक्षसमेत हुन् ।