विराटनगर : अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्वासको मत लिने तयारीमा जुटेसँगै विपक्षी गठबन्धन दलका नेताहरू छलफलमा जुटेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले असार १४ गते प्रदेशसभाको तेस्रो अधिवेशन आव्हान गरेपछि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिन विपक्षी दलहरू एक भएका हुन् ,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतसम्बन्धी प्रस्ताव ‘फेल’ गराउने उनीहरूले निर्णय गरेका छन् ।
सोमबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का कोशी प्रदेश संसदीय दलका नेता, प्रमुख सचेतक, सांसद तथा पार्टी नेतृत्वको संयुक्त बैठक बसेर यस्तो निर्णय गरेको हो ।
बैठकमा सहभागी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीले ल्याउने विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने र गठबन्धन दलकै नेतृत्व र सहभागितामा नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्ने निर्णय भएको जानकारी दिए ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएपछि अहिलेको सरकार अल्पमतमा छ ।
९३ प्रदेशसभा सदस्यमा अहिलेकै अवस्थामा सत्तापक्षतर्फ एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । विपक्षी गठबन्धनमा सभामुखसहित माओवादीका १३, कांग्रेसका २९, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सदस्य छन् । तर, सभामुख निर्णायक मतका लागि मात्र मतदानमा सहभागी हुने भएकाले दुवै गठबन्धनलाई सरकार बनाउन असहज छ ।