विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १४ गते विश्वासको मत लिने तयारी थालेका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले १४ असारमा विश्वासको मत लिने तयारी गरेका हुन् ।
कार्कीले विश्वासको मत लिनका लागि प्रदेश प्रमुखले असार १४ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको तेस्रो अधिवेशन आह्वानका गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले अधिवेशन आव्हान गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा यसअघि प्रदेश प्रमुखले चालू बजेट तथा दोस्रो अधिवेशन अन्त्य गरेका थिए । अल्पमतमा रहेका मुख्यमन्त्रीले बजेट अधिवेशन अन्त्य गराएर अध्यादेश मार्फत बजेट ल्याएका थिए ।
प्रदेश सरकारका प्रवक्ता तथा कृषिमन्त्री भक्तिप्रसाद सिटौलाले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको जानकारी दिए ।
९३ प्रदेशसभा सदस्यमा अहिलेकै अवस्थामा सत्तापक्षतर्फ एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । विपक्षी गठबन्धनमा सभामुखसहित माओवादीका १३, कांग्रेसका २९, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सदस्य छन् । तर, सभामुख निर्णायक मतका लागि मात्र मतदानमा सहभागी हुने भएकाले दुवै गठबन्धनलाई सरकार बनाउन असहज छ ।