विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताएका छन् । प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै कार्कीले प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेकाले प्रदेश समृद्धिका आधारहरु तय गर्न आवश्यक भएको बताए ।
प्रदेशले बनाउने योजनाहरु प्रदेशकै तथ्याँङ्कमा आधारित हुनुपर्ने भएकाले प्रदेशको वास्ताविक तथ्याँङ्क सङ्कलन गर्ने कुरामा हाम्रो ध्यान पुग्नुपर्ने उनको भनाइ छ ।
‘प्रदेशमा बजेट निर्माण र बजेट निर्माणपछि प्रथामिकताहरु तया गर्ने सन्दर्भमा हामी पहिलेनै चुकेका छौ, त्यसको कारणले अझै केही वर्ष केही क्षेत्रहरुमा असन्तुलन हुने अवस्था रहन्छ,’ मुख्यमन्त्री कार्कीले भने ।
उनले प्रदेश केही क्षेत्ररु अवस्था खस्किएको दृष्टान्त प्रस्तु गर्दै औद्योगिक उत्पादन, निर्माण सामग्रीको उत्पादन र राजस्व सङ्कलनमा गिरावट आएको बताए ।
कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पर्यटन क्षेत्रको प्रचुर संभावना रहेको कोशी प्रदेशलाई पर्यटनको १ नं गन्तव्य बनाउन सकिने बताए ।
खानेपानी, सिचाँइ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङवोले वर्तमान संविधानले समाजबादको गन्तव्य तय गरेकाले प्रदेश समृद्धिका आधारहरु पनि सोही अनुरुप निर्माण गरिनुपर्ने बताए ।
त्यस्तै उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले प्रदेश भित्रको प्राकृतिक स्रोतसाधनको रुपमा रहेको जल र जङ्गलको भरपुर प्रयोग गर्न सकेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, उपसभामुख सिर्जना दनुवार, प्रदेशसभा सदस्य गणेश उप्रेती लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अर्थशास्त्री प्रा डा शिव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।