विराटनगर : कोशी प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९ प्रमाणीकरण भएको छ । बुधबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
जेठ १४ गते प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङुबोले प्रदेशसभामा पेस गरेको विधेयक प्रदेशसभा बैठकबाट सर्वसम्म पारित भएको थियो ।
त्यसको दुई दिनपछि जेठ १६ मा संसद सचिवालले विधेयक प्रमाणीकरण गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पठाएको थियो । तर, प्रदेशमा कोशी नाम खारेजीको माग लिएर आन्दोलन भइरहेका कारण प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गर्न ढिलासुस्ती गर्दै आएका थिए ।
बुधबार प्रदेश प्रमुखको कार्यालयका प्रवत्ता नरेन्द्र श्रेष्ठले प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएको सूचना जारी गरेका छन् । ‘प्रदेश प्रमुख परशुराम खापुङज्यूले कोशी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९ नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।