विराटनगर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद केदार कार्कीले अल्पमतमा रहेको कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम सदनमा प्रवेश गराएर प्रदेशसभाको अपमान गरेको बताएका छन् ।
बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रदेशसभामा बोल्दै कार्कीले सरकारले विश्वासको मत गुमाइसकेका कारण नीति तथा कार्यक्रमको कुनै अर्थ नरहने बताए ।
अल्पमतको सरकारले नीति तथा कार्यक्रम ल्याएर प्रदेश प्रमुखलाई वाचन गर्न लगाउँदा प्रदेश प्रमुखको पनि अपमान भएको उनले बताए । ‘सरकार आफै अल्पमतमा छ । सरकारले विश्वास गुमाइसकेको छ । समर्थन गुमाइसकेको सरकारले नीति तथा कार्यक्रम ल्याएर प्रदेश प्रमुखलाई वाचन गर्न लगाउनु प्रदेश प्रमुखको पनि अपमान हो,’ उनले भने ।
अध्यादेशबाट बजेट ल्याउने चेष्टा नगर्न उनले सरकारलाई चुनौतीसमेत दिएका छन् । अध्यादेशबाट बजेट ल्याउने प्रयास गरे त्यो जनताको भावना विपरीत हुने कार्कीको तर्क छ ।