Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मधेसमा जसपालाई एमालेको समर्थन, कोशीमा सरकार टिकाउने ‘अस्त्र’


  • Purbeli Press
  • बुधबार, जेष्ठ ३१ २०८०

विराटनगर : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक प्रदेशसभाबाट शतप्रतिशत विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उनलाई विश्वासको मत दिएपछि उनले १०३ जना सांसदको मत पाएका हुन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा मंगलबार १०५ जना उपस्थित रहेको थियो । मत विभाजनमा सभामुख र उपसभामुखले मत हालेनन् ।

तर, हिजो एमालेले विश्वासको मत दिएपनि यादवले एमालेकै कारण दोस्रो पटक विश्वासको मत लिन बाध्य भएका हुन् । गत १ जेठमा एमालेले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले दोस्रोपटक विश्वासका मत लिएका हुन् ।

एमालेले मत नदिँदा पनि स्पष्ट बहुमतमा रहेको सरकारलाई एमालेले किन मत दियो भन्ने विषय यतिबेला चर्चामा छ । मंसिरको चुनावपछि चारवटा प्रदेशको नेतृत्व गरेको एमालेको हातमा अहिले कोशी प्रदेशको सरकार मात्र छ । कोशीमा पनि सत्ता साझेदार दल नेकपा माओवादी र जनता समाजवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ ।

अहिले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशीमा मुख्यमन्त्री छन् । उनलाई एमाले र राप्रपाको समर्थन मात्र बाँकी छ । राप्रपासहित मुख्यमन्त्रीको पक्षमा ४६ सांसद छन् । कोशीमा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । कोशीमा जसपासँग एक सांसद छ ।

जसपाकी निमर्ला लिम्बू १७ जेठमा सरकारको स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएकी थिइन् । जसपा पुनः सरकारमा सहभागी हुँदा कोशीमा एमालेको सरकार जोगिने भएकाले मधेसमा विश्वासको मत दिएर एमालेले सरकार जोगाउने ‘अस्त्र’ प्रयोग गरेको नेताहरुको भनाइ छ ।

मधेसमा एमालेले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर राजनीतिक अस्थिरताको अन्त्य गर्न भूमिका खेलेको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमा लेख्दै राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएको बताए ।

उनले एमालेको नेतृत्वमा रहेको कोशी प्रदेशलाई संकेत गर्दै बाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको बताए ।

यतिवेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती वन्न पुगेकाले अन्य प्रदेशमा पनि यस्तै अभ्यास हुनुपर्ने उनको भनाइ छ । पोखरेलले कोशीको सरकार टिकाउन मधेसमा विश्वासको मत दिएको संकेत प्रयोग गरेका छन् ।

जसपा कोशी प्रदेशका एक नेताका अनुसार कोशीमा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा पार्टीका केन्द्रीय नेताहरुले तय गर्ने बताए । ‘हिजो पनि केन्द्रकै निर्देशनमा सरकारबाट फिर्ता भएका हौँ,’ ती नेताले भने, ‘तर, मधेसमा समर्थन फिर्ता लिएको एमालेले विश्वासको मत दिएको छ । कोशीमा के गर्ने भन्ने विषयमा हाम्रो केन्द्रीय समितिले निर्णय गर्छ ।’

एमाले स्रोतका अनुसार जसपालाई सरकारमा फर्काउन प्रयास भइरहेको छ । एमालेले खासगरी जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईसँग कोशीको विषयमा छलफल गरिरहेको छ । राई पूर्व एमाले नेतासमेत हुन् ।

उनी यसपटक एमालेको समर्थनमा सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ‘गएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हामीले जसपासँग चुनावी सहकार्य गरेका थियौँ, त्यसैले जसपालाई फेरी सरकारमा फर्काउने कुरामा छलफल जारी छ,’ एमालेका एक सांसदले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार