Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संवैधानिक व्यवस्थाअनुसार नै कोशीमा बजेट ल्याउँछौ : एमाले



विराटनगर : नेकपा एमालेले कोशी प्रदेशमा संवैधानिक र कानुनी व्यवस्थाअनुसार नै आर्थिक वर्ष ०८०/८१ को बजेट आउने बताएको छ ।

नेकपा एमाले नेतृत्वको सरकार रहेको कोशी प्रदेशमा जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि वार्षिक नीति तथा कार्यक्रम र बजेटसमेत प्रभावित भएको चर्चा चलिरहेको बेला एमालेले समयमै बजेट आउने बताएको हो ।

बजेटको मुखमा सरकार अल्पमतमा परेको छ । प्रदेशसभा बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक स्थगित हुँदा अन्य ६ प्रदेशले नीति तथा कार्यक्रम बनाइसक्दा पनि कोशी प्रदेशमा सरकारले अझै नीति तथा कार्यक्रम ल्याउन सकेको छैन् नि ? भन्ने प्रश्नमा नेकपा एमाले संसदीयल दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी संविधानअनुसार नै असार १ मा बजेट आउने बताउँछन् ।

सरकारले संविधानकै प्रावधानअनुसार असार १ गते बजेट ल्याउने उनको दाबी छ । ‘सरकारले बजेट र नीति कार्यक्रममा ध्यान दिइरहेको छ । सरकारले आफ्नो परिस्थिति हेरेर संविधान अनुसार प्रदेशसभामा २/३ दिनभित्र आफ्नो नीति तथा कार्यक्रम पेश गर्छ,’ भण्डारीले पूर्वेलीप्रेससँग भने ।

नीति तथा कार्यक्रम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । उनले भने, ‘बजेटमा सरकारले विशेष ध्यान दिइरहेको छ । संवैधानिक व्यवस्थाअनुसार नै बजेट आउनेछ । संविधानले जे व्यवस्था गरेको छ, सोहीअनुसार बजेट ल्याउँछौँ ।’

यस्तै उनले सरकारले बजेट ल्याएपछि मात्रै विश्वासको मत जुटाउन लाग्ने बताए । अन्य दलहरुलाई सरकारमा सहभागी गराउनका लागि अनौपचारिक छलफल भइरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार