काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा भइरहेको पहिचानवादी आन्दोलन अराजक बन्दै गएको भन्दै त्यसले आन्दोलनसँगै संघीयतालाई नै जोखिममा पार्नेतर्फ सचेत गराएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले कोशी प्रदेश सभाले नाम तय गर्ने तर निशानामा किन एमाले परेको भन्दै जवाफ मागेका थिए ।
प्रदेश सभा सदस्य राम रानामाथि इलामको सोम्याक भञ्ज्याङ र उपसभामुख सिर्जना दनुवारमाथि उदयपुरमा आक्रमण प्रयास भएको भन्दै एमालेले गृहमन्त्रीको जवाफ मागेको थियो ।
गृहमन्त्री श्रेष्ठले आफना विचार राख्ने र जनमत निर्माण गर्ने स्वतन्त्रता संविधानले प्रदान गरेको भन्दै त्यसको सीमा नाघेर अराजक गतिविधि नगर्ने छुट कसैलाई नभएको बताए ।
“म फेरि भन्छु, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले धेरै संघर्ष गरेर स्थापित गरेको हो । यसमाथि एउटा वा अर्को कोणबाट आक्रमण हुन दिनु कसैको पनि हितमा छैन,” श्रेष्ठले भने, “आन्दोलनकारी भन्ने साथीहरूलाई म भन्न चाहन्छु, सबैको आआफ्नो विचार राख्ने स्वतन्त्रता छ । संविधान र संघीय लोकतन्त्रले सुनिश्चित गरेको बाटो लोकतान्त्रिक विधि र संविधानको सीमा भित्रै रहनुपर्छ ।”
उनले पहिचानवादीको आन्दोलनले संघीयता विरोधीहरूलाई बल नपुगोस् भनेर सचेत हुन पनि आग्रह गरे ।