विराटनगर : नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर एमाले नेतामाथि भइरहेको आक्रमणको विरोध जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेशसभाको दुई तिहाइ सदस्यबाट कोशीको नाम फेर्न चुनौतीसमेत दिएको छन् । सत्ता गठबन्धनले लगातार एमालेलाई निशानामा राखेर काम गरिरहेको उनले आरोप लगाएका छन् ।
‘प्रदेशको अस्थायी राजधानी केन्द्रले तोकेको हो । नाम र स्थायी राजधानीका सन्दर्भमा के गर्ने त्यो सम्बन्धित कुरा हो। गत फागुन १७ गते कोशी प्रदेशको नाम दुई तिहाइभन्दा बढी प्रदेश सभाका सदस्यहरूले तय गरेका हुन्। तर, त्यसैलाई लिएर एमालेलाई निशानामा पारिएको छ। एमालेका अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङलाई एम्बुस थापेर मार्ने काम भयो,’ उनले भने, ‘तर, सरकार रमिता हेरिरहेको छ। केही गर्दैन।’
उनले प्रदेश सभा सदस्य राम रानामाथि इलामको सोम्याक भञ्ज्याङ र उपसभामुख सिर्जना दनुवारमाथि उदयपुरमा आक्रमण प्रयास हुँदा पनि सरकारले सुरक्षा नदिएको बताए ।
‘के सत्तापक्ष हामीसँग भिड्न खोजेको हो? यदि सरकार हाम्रा नेता–कार्यकर्ता, एमालेलाई सुरक्षा दिन सक्दैन भने एमालेले आफ्नो सुरक्षा आफ्नै गर्छ म गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु,’ उनले भने।
उनले विराटनगरमा एकजना प्रदर्शनकारीको मृत्यु भएको बताउँदै उनको मृत्यु कसरी भयो भनेर सरकारले जवाफ दिनुपर्ने बताए ।
उनको आन्दोलनकारीकै लाठीबाट मृत्यु भएको कुरा बाहिर आएको बताउँदै यथार्थ सरकारले बताउनुपर्ने भट्टराईको भनाइ थियो ।
एमाले सचिवसमेत रहेका भट्टराईले जातिजाति, धामिर्क र सम्प्रदायका नाममा राजनीति नगर्न पनि चेतावनी दिए ।