विराटनगर : कोशी प्रदेशको नामकरण खारेजीको माग राख्दै आन्दोलन गर्ने क्रममा पक्राउ परेका पहिचानवादी समूहका नेता कार्यकर्तालाई रिहा गर्ने सहमति भएको छ । गत आइतबार विराटनगरमा भएको प्रदर्शनमा ८६ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुमध्ये ६० जना यसहघि नै रिहा भइसकेका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय, मोरङ भएको वार्तामा बाँकी रहेका २६ जनालाई आगजनी, तोडफोड र बन्दको कार्यक्रम नगर्ने सहमतिमा रिहा गरिएको हो ।
मोरङका सुरक्षा निकाय प्रमुखहरू, आन्दोलनरत पक्षका प्रतिनिधिलगायतको उपस्थितिमा सहमति गरिएको बताइएको छ । पहिचानवादी समूहले पक्राउ परेकाहरुलाई विनाशर्त रिहाइ गर्नुपर्ने माग राख्दै आम हड्तालको कार्यक्रम घोषणा गरेपछि वार्तामा बोलाइएको थियो । वार्तापछि आमहड्ताल फिर्ता लिने सहमति भएको जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख अधिकारी वीरेन्द्र यादवले जानकारी दिए ।
प्रशासन र आन्दोलनकारीबीचमा भएको सहमतिमा पुनः नामकरण संयुक्त संयुक्त समितिलगायतका असहमत पक्षबाट विरोधका कार्यहरू भइरहेकोमा अब उप्रान्त कुनै पनि किसिमको आगजनी, तोडफोड, आवागमन अवरुद्ध, कार्यालय सञ्चालन अवरुद्ध लगायतका शान्ति सुव्यवस्थामा असर पुर्याउने कार्य नगरी कानुन सम्मत शान्तिपूर्ण रूपमा कार्यक्रमहरू सञ्चालन गर्ने भनिएको छ ।
पक्राउ परेकाहरुलाई आजै रिहा गर्ने तयारी गरिएको छ ।
