विराटनगर : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति नेकपा एमालेले सांसद ऋषिकेश पोखरेललाई पठाउने भएको छ ।
प्रतिनिधिसभामा विषयगत समितिमध्ये सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउने प्रचलन छ । सोही आधारमा यसपटक पनि गठबन्धनले लेखा समितिको सभापति नेकपा एमालेलाई छाड्ने भएको हो ।
लेखा समितिमा एमालेबाट ८ जना सांसद सदस्य छन् । पोखरेलसहित योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युत मैनाली, दामोदर भण्डारी,सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मिणी राना बराइली लेखा समितिको सदस्य छन् ।
एमाले स्रोतका अनुसार सभापतिमा कसलाई पठाउने भन्ने विषयमा औपचारिक छलफल नभए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई सभापति बनाउने संकेत गरेका छन् ।
नेकपा एमालेको मोरङ जिल्ला कमिटी अध्यक्षसमेत रहेका पोखरेल मोरङ क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । उनी यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।
दुईपटक चुनाव जितेर पनि मन्त्री बन्न नपाएका पोखरेललाई पार्टी अध्यक्षले मौका दिन लागेको स्रोतको भनाइ छ ।