विराटनगर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशमा पुनः नामकरण गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् । आइतबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी सरकारले प्रदेशको नाम संसोधन गर्नुपर्ने बताए ।
नामको विषयमा सरकारले देखाएको भूमिका लज्जास्पद भएको उनले बताए । ‘म राणाकालीन आन्दोलनमा त सहभागी छैन् तर पञ्चायतीविरुद्ध र गणतन्त्रको आन्दोलनमा सडक योद्धाकै रुपमा सहभागी थिए,’ उनले भने, ‘त्यसबेला त सरकारले यस्तो प्रकारको दमन गर्दैनथ्यो । अहिले सरकारको भूमिका लज्जास्पद छ ।’
प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले प्रदेशमा थप द्वन्द बढाएको उनको आरोप छ । नामकरणमा असन्तृष्ट राखेका पक्षले शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्ने बताउँदै उनले सरकारले तत्काल दमन रोक्नुपर्ने बताए ।
आन्दोलनमा सहभागीमाथि भइरहेको दमन रोक्न उनले सरकारसँग माग गरेका छन् । राईले समस्या समाधानका लागि बलियो वार्ता समिति बनाएर सरकार अघि बढ्नुपर्ने बताए ।
प्रदेशको नामकरणपछि आज प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन सुरु हुँदै छ ।