Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माओवादी र जसपाले साथ नदिँदा कोशीमा एक्लियो कांग्रेस

तत्काल सरकार परिवर्तन गर्न नसक्ने निष्कर्ष



विराटनगर : कोशीमा एमाले नेतृत्वको सरकार ढाल्न जोडबलका साथ लागेको नेपाली कांग्रेस तत्काल सरकार परिवर्तन गर्न नसक्ने निष्कर्षमा पुगेको छ । केन्द्रीय सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी र जनता समाजवादी पार्टीले साथ नदिएपछि कोशी प्रदेशमा सरकार परिवर्तन गर्ने कांग्रेसको प्रयास विफल भएको हो ।

केन्द्रमा बनेको गठबन्धनविपरीत कोशी प्रदेशमा एमालेको नेतृत्वमा माओवादी र जसपा सरकारमा सहभागी भएको भन्दै कांग्रेसले पटकपटक सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको बाटो तय गर्न आग्रह गर्दै आएको छ । केन्द्रमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी दलहरुबाटै कोशीमा सरकार गठन हुनुपर्ने अडान राख्दै आएको कांग्रेसले माओवादी र जसपालाई औपचारिक रुपमै सरकारबाट फिर्ता हुन आग्रह गरेको थियो ।

केही दिनअघि बसेको प्रदेश कांग्रेस संसदीय दलको बैठकले नयाँ सरकार गठनको बाटो खुल्ला गर्न माओवादी र जसपालाई आग्रह गरेको थियो । पत्र पठाउँदासमेत सरकारबाट फिर्ता नआएपछि तत्काल सरकार परिवर्नत गर्न सक्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।

केन्द्रीय नेताहरुले नै कोशी प्रदेशमा सरकार परिवर्तन गर्नका लागि चासो नदेखाएको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए । उनले हिक्मत कार्की नेतृत्वकै सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए ।

आफूहरुले नयाँ सरकार गठनका लागि गठबन्धनका नेताहरुलाई धेरै पटक आग्रह गर्दा पनि चासो नदेखाएको उनको गुनासो छ । उनले भने, ‘अहिले उहाँहरू सरकार परिवर्तनमा भन्दा पनि अरू नै कुराको तनावमा हुनहुन्छ हाम्रो कुरा सुन्नु नै हुन्न ।’

केन्द्रीय नेताहरुले सरकार परिवर्तन गर्न निर्देशन नदिएसम्म यहि सरकारले निरन्तरता पाउने उनको भनाइ छ । ‘जवसम्म हाम्रो सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सरकार गठन गर्नका लागि निर्देशन दिनुहुन्न तबसम्म हामीले केही गर्न सक्दैनौ, हामीले चाहेर मात्र केही हुँदैन्,’ उनले भने ।

पटकपटक सरकारबाट फिर्ता हुन आग्रह गर्दा पनि अटेरी गरेको भन्दै उनले प्रश्न गरे, ‘केन्द्रमा भएको गठबन्धन अनुसार कोशी प्रदेशमा पनि त्यही अनुसारको सरकार बनाउनु पर्छ भन्ने तर उहाँहरू कुन परिबन्धमा हुनुहुन्छ सरकारबाट बाहिर आउनु हुन्न ?’

अहिले गठबन्धनका शीर्ष नेताहरु सरकार परिवर्तनको पक्षमा नदेखिएकाले अहिले नै समर्थन फिर्ता लिने र सरकार परिवर्तन हुने सम्भावना नभएको थापाले बताए । केन्द्रीय गठबन्धनका दलले साथ नदिँदा यही सरकारले बजेट नीति तथा कार्यक्रम ल्याउने अवस्था आएको उनले बताए ।

कोशीमा एमाले संसदीय दलका नेतासमेत रहेका हिक्मत कार्कीको नेतृत्वमा माओवादी, राप्रपा र जसपा सरकारमा सहभागी छन् । माओवादीबाट जीवन आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री र दुर्गाप्रसाद चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री छन् ।

राप्रपाका भक्ति सिटौला कृषि र जसपाकी निमर्ला लिम्बू स्वास्थ्यमन्त्री छिन् । कोशीमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सरकार बाहिर छन् ।

कोशी प्रदेशसभामा ९३ सदस्य छन् । तर, कुनै दलसँग एकल बहुमत छैन् । प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । केन्द्रमा यी दलहरुमध्ये एमाले र राप्रपा सरकार बाहिर छन् भने कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा एउटै सरकारमा छन् । कोशीमा भने परिस्थिति फरक छ । पुरानै गठबन्धनको सरकार छ ।

केन्दीय गठबन्धनमा रहेका दलहरुसँग कोशी प्रदेशमा ४७ सांसद छन् । तर, माओवादी केन्द्रका बाबुराम गौतम सभामुख भएकाले यो गठबन्धनलाई सरकार बनाउन मुस्किल छ । यता एमाले र राप्रपासँग ४६ सांसद छन् । एमाले र राप्रपाबीच चुनावीदेखि नै गठबन्धन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार