विराटनगर : कोशी प्रदेश नामकरणपछि आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाएर समस्या समाधान गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।
बिहीबार कांग्रेसका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापाले प्रेस विज्ञप्ति जारी गरी पुनः नामकरणको माग राख्दै आन्दोलन गरिरहेको समूहलाई वार्तामा बोलाउन कांग्रेसले आग्रह गरेको हो ।
अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसके पनि तत्कालीन प्रदेश १ ले नाम राख्न नसक्दा आलोचनाको सिकार बन्नुपरेको स्मरण गर्दै नाम सबैको साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरेको विज्ञप्तिमा उल्लेख छ ।
तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाइ उचित मागहरुलाई यथासक्य सम्बोधन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
आन्दोलनकारीलाई धरपकड, कर्फ्यु, लाठीचार्ज, अश्रुग्यास र गोली चलाउनेलगायत कार्य बन्द गर्न कांग्रेसको माग छ ।
उक्त आन्दोलनका क्रममा मृत्यु भएका मोरङको बेलबारीका पदम लिम्बू लाजेहाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न विज्ञप्तिमा माग गरिएको छ । यस्तै, दमकमा भएको प्रदर्शनका क्रममा घाइते भएकी निर्मला क्षेत्री लिम्बूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।