Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईका मेयरको कार्यकक्षमा पार्टीका नेताको फोटो !



रतुवामाई नगरपालिकाका मेयरको कार्यकक्षमा राखिएको तस्वीर ।

विराटनगर : मोरङको रतुवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंहको कार्यकक्षमा नेपाली कांग्रेसका स्वर्गीयदेखि हाल उच्च ओहदामा रहेका नेताहरुको तस्वीर राखेको पाइएको छ ।

सिंहको कार्यकक्षमा मेयर बस्ने कुर्सी पछाडि राष्ट्रपति रामचन्द्र पौडेल र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको तस्वीरसँगै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व राष्ट्रपति रामवरण यादव, बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, शुशील कोइरालाको तस्वीर राखिएको छ । त्यहाँ निर्वमान राष्ट्रपति विद्यादेवि भण्डारीको तस्वीर पनि यथावत छ ।

सरकारी कार्यालयमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने प्रचलन छ । तर पूर्वप्रधानमन्त्री वा पार्टीका अध्यक्षहरुको तस्वीर राख्ने गरिदैन । स्वर्गीय नेताहरुको पनि तस्वीर राख्ने प्रचलन छैन् ।

यता मेयर सिंहले भने तस्वीर राखिएको विषयमा आफू अनविज्ञ रहेको बताए । आफ्नो कार्यकक्षमा भएका तस्वीर आफूले नराखेको उनको दावी छ ।

उनी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् । उनले यसअघिका प्रमुखले नै त्यसरी फोटो झुण्डाएको बताए । यसअघिका मेयर रवीन राई पनि कांग्रेसकै हुन् । ‘तस्वीर राखिएको विषयमा मलाई केही थाहा छैन्, यो यसअघिका प्रमुख ज्युले राख्नुभएको हो,’ उनले भने, ‘म आउँदा यस्तै थियो । यसलाई हटाउनुपर्छ भन्ने कुरा मलाई थाहा छैन् । अब अरुसँग सल्लाह गर्छु ।’

नगरप्रमुखको कार्यकक्षमा राखिएको तस्वीर सार्वजनिक भएसँग सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ । अहिले कार्यकारी पदमा रहेका व्यक्तिको फोटो राख्नु स्वभाविक भएपनी पूर्व वा स्वर्गीय भइसकेका नेताहरुको फोटो राख्नु जायज नमानिले उनीहरुको तर्क छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार