विराटनगर : कोशी प्रदेशमा सरकार परिवर्तनको कसरत गरिरहेको नेपाली कांग्रेसले केन्द्रीय सत्ता गठबन्धन अनुसार प्रदेशमा सरकार गठन हुनुपर्ने बताएको छ । कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकारमा सहभागी रहेका नेकपा माओवादी र जनता समाजवादी पार्टी (जसपा) लाई सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन कांग्रेसले आग्रह गरेको छ ।
बिहीबार संसदीय दलको कार्यालय विराटनगरमा बसेको बैठकले माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न आग्रह गरेका कांग्रेसका प्रदेश सांसद भीम पराजुलीले जानकारी दिए ।
कोशी सरकारमा माओवादीका तर्फबाट दुई र जसपाबाट एक जना मन्त्री छन् । केन्द्रमा समिकरण फरक भएका कारण प्रदेशमा पनि सोही अनुसारको सरकार हुनुपर्ने पराजुलीले बताए । माओवादी र जसपा सरकारबाट नबाहिरिदाँ गठबन्धन सरकार बनाउने प्रयास रोकिएको उनको भनाइ छ ।
कोशी प्रदेशसभामा ९३ सदस्य छन् । तर, कुनै दलसँग एकल बहुमत छैन् । प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । केन्द्रमा यी दलहरुमध्ये एमाले र राप्रपा सरकार बाहिर छन् भने कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा एउटै सरकारमा छन् । कोशीमा भने परिस्थिति फरक छ । पुरानै गठबन्धनको सरकार छ ।
केन्दीय गठबन्धनमा रहेका दलहरुसँग कोशी प्रदेशमा ४७ सांसद छन् । तर, माओवादी केन्द्रका बाबुराम गौतम सभामुख भएकाले यो गठबन्धनलाई सरकार बनाउन मुस्किल छ । यता एमाले र राप्रपासँग ४६ सांसद छन् । एमाले र राप्रपाबीच चुनावीदेखि नै गठबन्धन छ ।
प्रदेश सभाबाट विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार ढलेको खण्डमा पनि कांग्रेस–माओवादी गठबन्धनसँग सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने देखिँदैन ।