विराटनगर : नेपाली कांग्रेसको केन्द्रमा देखिएको विवादको प्रभाव जिल्लादेखि स्थानीय तहका कार्यक्रममा समेत देखिन थालेको छ । त्यसको पछिल्लो उदारण हो, मोरङको क्षेत्र नम्बर २ मा भएका कांग्रेसका दुई कार्यक्रम ।
कुरा गरौ पहिलो कार्यक्रमको । गत बैशाख २६ गते मंगलबार मोरङ २ को क्षेत्रीय सम्मेलन भयो । भर्खरै कांग्रेसको केन्द्रीय कमिटीमा मनोनित भएका डा. मिनेन्द्र रिजाल कार्यक्रमका प्रमुख अतिथि थिए । सुनवर्षीको डाइनियामा रहेको विपी सेवा केन्द्रमा भएको कार्यक्रमा उनी निकट मानिएका स्थानीय नेताहरु मात्रै सहभागी थिए ।
तर, त्यसको केही दिनमा नै जेठ ३ गते सोही स्थानमा रिजाललाई काउन्टर दिने गरी सुजाता कोइरालाले अर्को कार्यक्रम सम्पन्न गरिन् । सुनवर्षी नगर कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कोइराला पक्षकै नेताहरुको साभागीता बढी थियो ।
खासगरी गएको निर्वाचनबाट यी दुईबीचको टसल बढ्दै गएको कार्यकर्ताहरुको बुझाइ छ । गत मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेसले २०७४ को निर्वाचनमा विजयी भएका डा. मिनेन्द्र रिजाललाई पन्छाएर गिरिजा कोइराला पुत्री सुजाता कोइरालाई उम्मेदवार बनाएपछि विवाद झन बढेको हो ।
टिकट नपाएको झोकमा निर्वाचनभर रिजाल यो क्षेत्रमा आएनन् । बाबुको विरासत जोगाउन आएकी सुजातालाई रिजालले असहयोग गरेको उनी पक्षधर नेताहरुको बुझाइ छ । तर, २०७४ निर्वाचनमा भने सुजाता कोइरालाकै बलमा रिजाल उम्मेदवार बनेका थिए । किनकी त्यसबेला दुवै जना डा. शेखर कोइरालाको समूहमा थिए ।
चुनावको नजिता सार्वजनिक भएलगत्तै सुजाताले मीनेन्द्र रिजाल आफूलाई हराउन लागेका कारण आफूले निर्वाचनमा पराजय भोग्नुपरेको बताएकी थिइन् । त्यसबेला उनली आफ्नो पराजयको सम्पूर्ण दोष नेता डा. रिजाललाई लगाएकी थिइन् ।
‘मीनेन्द्रजीका खास कार्यकर्ता भनिनेहरूले मीनेन्द्रजीकै इसारामा सुरुदेखि नै खुला रूपमा एमाले उम्मेदवारका लागि भोट मागे’, सुजाताको आरोप थियो, ‘उनीहरूले एमालेमा भोट दिन सक्तैनौँ भन्नेहरूसित घण्टी र हलोमा मत दिन आग्रह गरे। घण्टी र हलोका उम्मेदवार र समर्थकहरूले म र हाम्रा साथीहरूसित आफ्नो पार्टीले केही आसा नै नगरेका टोल र वार्डबाट सोचेभन्दा धेरै मत आएको बताएका छन्। मीनेन्द्रजीकै इसारा र निर्देशनमा केही भोट लौरोमा पनि गएको छ।’
डा. रिजाल निकट एक नेताका अनुसार चुनावको समयदेखिनै दुई नेताहरुबीच खटपट सुरु भएको हो । ‘चुनावकै समयमा पनि उहाँ (सुजाता कोइराला) ले हाम्रो समूहमाथि विभिन्न आरोप लगाउँदै आउनुभएको छ, पछि चुनाव हारेपछि दोषजति सबै मिनेन्द्र जीलाई थुपार्नुभयो, त्यसपछि विवाद झनु बढीरहेको छ,’ ती नेताले पूर्वेलीप्रेससँग भने ।
यता सुजाता पक्षधर नेताहरु भने मिनेन्द्र रिजालले चुनावमा खुलेआम असहयोग गरेपछि विवाद बढेको बताउँछन् ।
यसैबीच पछिल्लो समय भएका अलगअलग भेलाप्रति सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ । कांग्रेसका स्थानीय खडानन्द ढकालले सामाजिक सञ्जाल फेसबुकमा दुवै समूहले आयोजना गरेको कार्यक्रमको तस्बीर राख्दै प्रश्न गरेका छन्, ‘यो गुट को राजनीति कहिले अन्त्य हुन्छ ?’
कतिपयले अब कांग्रेस आन्तरिक कलहले सकिने बाटोमा अघि बढेको टिप्पणी गर्न थालेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै स्थानीय फणिन्द्र थापा लेख्छन्, ‘ए अब दाईको सक्कियो दिदिको पालो ? केन्द्रीय नेताका कारण नै कांग्रेस थला परेको अवस्थामा हाम्रो क्षेत्रमा त दाई दिदि अनि निजहरुका रामभक्त हनुमानका कारण संगठन थिलथिलो भैसकेको अवश्था देखिन्दै छ। एउटा आउदा अर्को गुटकाले बहिष्कार गर्ने चलनको अन्त गर्नको लागि अब उपर्युक्त सक्षम इमानदार स्थानीय ब्यक्तित्वलाई अगाडि बढाउदा पार्टीको क्षयिकरण रोकिन्छ कि ? ब्यक्तिगत लान्छना लाएको छैन है मेइले समग्र संगठनको हितको सन्दर्भमा कुरा गरेको हुँ कसै कुनै ब्यक्ति प्रति लक्षित होईन । अन्यथा केहि बुझिए माफि चाहन्छु । जय नेपाल’