विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले आफूलाई जिम्मेवारीबाट हटाएको विषयमा कुनै आधिकारिक पत्र नआएको बताएका छन् ।
वाग्लेले आज पनि आफू कार्यालयमै बसेर काम गरिरहेको पूर्वेलीप्रेसलाई जानकारी दिए । उनले भने- “म अफिसमै छु, मलाई हटाएको थाहा छैन् ।”
बजारमा हल्ला आएको र पत्रपत्रिकामा समाचार आएकै भरमा आफू जिम्मेवारी नछाड्ने उनको भनाइ छ । आधिकारिक पत्र आएपछि भने के गर्ने भन्ने विषयमा सोच्ने उनले बताए ।
गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै उनलाई मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो । तर, तोकिएको समयभित्र वाग्लेले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएकाको भन्दै बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
वाग्ले तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव नियुक्त भएका थिए । त्यसबेला पर्शुराम बस्नेतलाई बोर्डको सदस्य सचिवबाट हटाएर वाग्लेलाई नियुक्त गरिएको थियो ।