Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश: एमाले संसदीय दलका उपनेता मगरमाथि आक्रमणको प्रयास



विराटनगर : कोशी प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका उपनेता राम बहादुर राना मगरमाथि आक्रमणको प्रयास भएको छ । बुधबार इलामको माङसेबुङ गाउँपालिकाको एउटा कार्यक्रममा सहभागी हुन जाँदा मगरमाथि आक्रमण भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

भण्डारीले बुधबार दिउँसो प्रेस विज्ञप्ती निकाल्दै केही उच्छृङ्खल र अराजक व्यक्तिहरुले विना कुनै कारण सांघातिक आक्रमण गर्ने प्रयास गरेको जानकारी दिएका छन् । आक्रमणको उक्त प्रयासप्रति एमाले संसदीय दलको कार्यालयले घोर निन्दा र भर्त्सना गर्दै संलग्नलाई कारबाहीको माग गरेको छ ।

“मुलकुमा सबैले शान्तिपूर्ण र कानून सम्मत ढंगले आफ्ना विचार व्यक्त गर्ने, नागरिकको स्वतन्त्रपूर्वक आवतजावत गर्न पाउने र सोही अनुसारको व्यवहार प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको घोर उल्लंघन गर्दै कानून हातमा लिने, हिंसात्मक गतिविधि गर्ने जस्ता कार्यबाट समाज र देशलाई उचित ढंगले अगाडि बढाउन सकिंदैन। हाम्रो दल मुलुकको विकास, समृद्धि, जातिय, भाषिक तथा साँस्कृतिक एकता र सदभावको पक्षमा दृढतापूर्वक उभिंदै आएको छ। तसर्थ, माननीय राम बहादुर राना मगर प्रति गैरकानूनी हर्कत र उच्छृङ्खल गतिविधि प्रदर्शन गरी आक्रमण गर्ने त्यस्ता व्यक्तिहरुलाई तत्काल कानूनको दायरामा ल्याई कार्वाही गर्न हाम्रो दल नेपाल सरकारसँग जोडदार माग गर्दछ,” विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार