Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भारतीय पर्यटकलाई सगरमाथा क्षेत्र भ्रमण गर्न मन्त्री राजभण्डारीद्वारा आग्रह



विराटनगर : कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले कोशी प्रदेश भ्रमणमा रहेका भारतीय पत्रकारको टोलीलाई सगरमाथा क्षेत्र भ्रमणका लागि आग्रह गरेका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा मन्त्री राजभण्डारीले भारतीय पत्रकारसहित भारतबाट नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई सगरमाथा क्षेत्रको भ्रमणका लागि निमन्त्रणमा दिएका हुन् ।

भारतको बिहार राज्यस्थित प्रेस क्लव पुर्णियाका अध्यक्ष नन्दकिशोर सिंहको नेतृत्वमा रहेको टोलीलाई मन्त्री राजभण्डारीले कोशी प्रदेशभित्र रहेका बिभिन्न पर्यटकिय क्षेत्र, धार्मिक स्थल, प्राकृतिक सौन्दर्यतासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको क्षेत्रमा रहेका अन्य पर्यटयिक स्थलको समेत प्रचारप्रसारमा सहकार्य गर्दै भारत र नेपालबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन आग्रह गरेका छन् ।

भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याई कोशी प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रसम्म सहज र सरल रुपमा भ्रमण गराउन दिगो योजनाको आवश्यक्ता रहेको औल्याउँदै उनले प्रदेश सरकारले पर्यटन ब्यवसायी, उद्यमी, संघसंस्थालगायतसँग छलफल गरिरहेको बताए ।

आगामी आर्थिक बर्षभित्र सगरमाथा क्षेत्र जोड्ने सडक मार्गको ट्रयाक खुल्ला गरी सवारी साधन सहज रुपमा आवतजावत गराउन काम धमाधम भईरहेको उनको भनाइ छ ।

यस्तै कोशी प्रदेशका पर्यटन ब्यवसायी भविष श्रेष्ठले कोशी प्रदेशबाट सगरमाथा तथा आसपासका क्षेत्रमा भ्रमणका लागि जान आउन नै समस्या रहेको बताउँदै विराटनगर तथा भद्रपुर बिमानस्थलबाट लुक्ला वा फाप्लु बिमानस्थलमा आन्तरिक उडान नियमित गर्न सुझाव दिए ।

सडकको सहज पहुँच नहुँदा पर्यटकहरु चाहेर पनि त्यस क्षेत्रमा जान नपाएको गुनासो गर्दै श्रेष्ठले आगामी दिनमा सडक तथा हवाई दुवै मार्ग संचालनमा आए भारतीय पर्यटकको संख्यालाई उल्लेख्य बृद्धि गर्न सक्ने बताए ।

टोलीको नेतृत्व गरिरहेका नन्दकिशोर सिंहले कोशी प्रदेशको भ्रमणले आफुहरुलाई उत्साहित एवं आकर्षित बनाएको बताउदै भारत फर्केर यस बिषयलाई रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामार्फत प्रचारप्रसार गरी आफ्नो राज्य तथा भारतका अन्य क्षेत्रका पर्यटकलाई कोशी प्रदेश भ्रमणका लागि आउन पहल गर्ने जिकिर गरे ।

सो टोलिले यस पटक भेडेटार, धरान, धनकुटा लगायतआसपासका पर्यटकिय तथाधार्मिक क्षेत्रको भ्रमण गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार