Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शरणार्थी प्रकरण: टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो। रायमाझीलाई म्याद थपका लागि साेमबार अदालत उपस्थित गराइएकोमा अदालतले अनुसन्धानका लागि म्याद थप गरेको हो।

रायमाझीलाई नेकपा (एमाले) ले यसअघि नै आफ्नो पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ।

प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, कांग्रेसका पूर्वसभासद् आङ्टावा शेर्पा तथा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेकामा तीनै जना हालसम्म फरार रहेकाले सम्भावित ठाउँमा खोजतलासलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १३ जना पक्राउ परिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार