विराटनगर : आफू बिरामी भएको भन्दै नेकपा एमालेबाट निलम्बित सांसद टोपबहादुर रायमाझीले संसद् सचिवालयमा पत्र पठाएका छन् ।
संघीय संसद् सचिवालय स्रोतका अनुसार रायमाझीको पत्र भरखर आइपुगेको छ । उक्त पत्र विस्तृत अध्ययन गर्न बाँकी रहेको बताइएको छ ।
आजमात्रै रायमाझीलाई एमालेले निलम्बन गरेको छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको खोजीपछि फरार रहेका रायमाझीलाई पदबाट निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
‘राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ । सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो । तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिँजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भिरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।’