विराटनगर : उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० मा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखामा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ ।
बर्थिङ सेन्टर सञ्चालनमा आएपछि वडाका सुत्केरी महिलाहरुका लागि सहज हुने वडा अध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । बर्थिङ सेन्टर स्थापनासँगै तालिमप्राप्त नर्सले सेवा दिँदा यहाँका स्थानीयवासीलाई सहज भएको उनको भनाइ छ ।
विकट र ग्रामीण भेग भएकाले स्वास्थ्यको पहुँचलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्छ भन्ने हेतुले नेपाल रेडक्रस सोसाइटी उपशाखा सोरुङ्ग छबिसेले कार्यालय प्रयोजनको लागि निर्माण गरेको भुकम्प प्रतिरोधात्मक भवनमा बर्थिङ सेन्टरको सेवा थप गरिएको खड्काले बताए ।
‘बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने पूर्वाधार, उपकरणहरुको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘अत्याधुनिक उपकरणहरुसहित स्वास्थ्यकर्मीलाई तालिम दिएका छौँ जसका कारण सेवा प्रभावकारी भएको छ भने स्थानीयवासीलाई सहज पनि भएको छ ।’