Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अयोग्य लडाकुलाई दुई लाखले केही हुँदैन, बरु उद्योग खोलेर रोजगारी सिर्जना गरौं : सांसद उप्रेती



विराटनगर : नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सांसद गणेश उप्रेती (सुशील) ले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै माओवादी प्रदेश समितिका सचिवसमेत रहेका उप्रेतीले सरकारले दिएको दुई लाखले केही नहुने बताएका छन् ।

उनले अयोग्य लडाकुलाई पैसा दिनुको सट्टा उनीहरू सेयर सदस्य रहने गरि कुनै ठूलो उद्योग वा कृषि फार्म खोलेर उनीहरूलाई रोजगारीको अवसर सिर्जना गर्न सुझाव दिएका छन् ।

‘दुई लाखले के हुन्छ ? त्यो भन्दा राम्रो देशभरिका अयोग्य  लडाकु सेयर सदस्य रहने गरी कुनै ठुलो कृषि फार्म वा अरु कुनै उधोग खोलेर उनिहरुनै रोजगार हुने चाजो पाजो मिलाउदा राम्रो !’ उनले फेसबुकमा लेखेका छन् ।

उनीहरूलाई कहिलेसम्म रकम उपलब्ध गराउने भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताउँदै उनले भने, ‘अनि अर्को कुरा यो रकम चै कहिले सम्म दिने ??’

पैसा बाड्नु स्थायी समाधान नभएको उनको तर्क छ । उनले भनेका छन्, ‘दुई लाख त १ हप्ता वा १ महिना भन्दा बढि टिक्दैन ! नत यो पैसाले कसैले कुनै रोजगार सिर्जना गर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार