Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईसहितका पालिकाको बैंक खाता तत्काल सञ्चालन गर्न एमाले सांसद पोखरेलको माग



विराटनगर : नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले गठबन्धन सरकारले आर्थिक वर्षको प्रारम्भमा कर्मचारी सरुवाका विषयलाई लिएर केही पालिकाको बैंक खाता बन्द गरेको भन्दै त्यसलाई तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पोखरेलले मोरङको रतुवामाई नगरपालिकासहित विभिन्न पालिकाको बैंक खाता सञ्चालन नहुँदा समस्या उत्पन्न भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मन्त्रालयले पठाएका कर्मचारी नगरपालिकाले हाजिर नगराउँदा केही पालिकाको बैंक खाता बन्द हुँदा तीन महिनादेखि शिक्षर्क कर्मचारीको तलब रोकिएको पोखरेलले बताए । उनले भने, ‘मन्त्रालयले आर्थिक वर्षको प्रारम्भमा रतुवामाईसहित विभिन्न क्षेत्रका कर्मचारीहरु ताकी ताकी सरुवा गर्यो । हामीले यो बेठिक भयो भनेर पटकपटक सच्याउन माग गर्यौ तर सरकारले सुनेन । फेरी ति पालिकाको बैंक खाता बन्द गरियो । जसबाट तीन महिनादेखि शिक्षक, कर्मचारीहरुको तलब रोकिएको छ ।’

मन्त्रालय र पालिकाको लापरबाहीले धमाधम निर्माण कार्य भइरहेका विकास निर्माणका काम ठप्प भएको उनले बताए । समयकै काम गरेको भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरु काम छाडेर नगरपालिकामा धर्ना बस्न बाध्य भएको सांसद पोखरेलले बताए ।
यस्तै विद्यालयहरुमा पाठ्यपुस्तक उपलब्ध नहुँदा भर्ना अभियान रोकिएको उनको भनाइ छ । ‘स्थान्ीय तहका सबै गतिविधि रोकिएको छ । विद्यालयमा पाठ्यपुस्तक छैन् । के यो सरकार यसरी नै लोकतन्त्रलाई बलियो बनाउन चाहन्छ ?’ उनले प्रश्न गरे ।

‘सरकारको एउटा पाटनरले कर्मचारी सरुवा गर्छ । अर्को पाटनरले त्यहाँ हाजिरी गर्न दिँदैन्,’ उनले भने, ‘सरकारका दुई पाटनरको लडाइ चल्छ र मुलुकको यो हालत बन्छ ।’ मोरङ जिल्लामा सरकारबाट सञ्चालिम महत्वपूर्ण विषयहरुमा सरकारले ध्यान नदिएको उनको गुनासो छ ।

‘वर्षौदेखि रतुवा खोला, कट्नु खोलाका पुल अलपत्र छन्, सरकार सुन्नेवाला छैन् । हुलाकी सडक हिँड्न पनि नसक्ने गरी भत्काइएको छ र दुई महिनादेखि काम बन्द छ । सरकार यस्ता विषयवस्तु देख्दैन्,’ उनले भने । यस्तै गान्धी मनमोहन सडक, जिपी मार्ग, मदन मार्ग, पथरी–डाइनिया सडक, दुहवी–गौरादह–भद्रुिर सडक, कर्सिया–बेलबारी सडक अलपत्र रहँदा पनि सरकारको ध्यान नपुगेको पोखरेलले बताए ।

रतुवा, बक्राह, डाँस, चिसाङ, लोहान्द्रा, सिंघीया जस्ता ठुला खोलाहरुबाट हजारौ जनता प्रताडित भएको दृष्टिान्त प्रस्तुत गर्दै पोखरेलले वर्खायाम सुरु भएसँगै जनतामा चिन्तामा भएको कुरामा पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा सरकारले आफूहरुको कुरा सुन्न नचाहेको उनको भनाइ छ । उनले भने, ‘सरकारले यस्ता समस्या देख्दैन तर आफूले ताकेको कर्मचारीको नामका स्थान्ीय तह र जनतामाथि किन यसरी जवरजस्ती र गुणगर्दी गरिन्छ । के यो गठबन्धन सरकार यसरी नै चल्न चाहान्छ ?’

आफूले उठाएका विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै पोखरेलले भने, ‘सरकारले कर्मचारी सरुवा किन यति विघ्न महत्व र इगो बनाइन्छ ? म यो सदनमा सम्माननीय प्रधानमन्त्रीको जवाफ सुन्न चाहान्छु ।’

https://www.facebook.com/prbesh11/posts/pfbid02wiM8hg5jBe1Z72ah7Mn4Tu5EjKXKPzc2PTW39Xe3AxF926RL9c28JZscgFbWSiPql?notif_id=1682419918492150&notif_t=feedback_reaction_generic&ref=notif

प्रतिक्रिया
सम्बन्धित समाचार