Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रणनीति नपुगेको भन्दै पहिचानवादीको आन्दोलन स्थगित



विराटनगर : कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै प्रदेश राजधानी विराटनगरमा आज गर्ने भनिएको आन्दोलन स्थगित भएको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप रणनीति नपुगेको भन्दै आन्दोलनको कार्यक्रम केही दिनलाई स्थगित गरेको हो ।

आइतबार बसेको संघर्ष समितिको बैठकले आन्दोलनको कार्यक्रम थप प्रभावकारी र रणनीति परिवर्तन गर्नुपर्ने भएकाले केही समय स्थगित गर्ने निर्णय गरेको किरात राई यायोख्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताए ।

पूर्व निर्धारित प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, कोशी नाममा हस्ताक्षर दिने ८२ जना प्रदेशसभा सदस्यहरुलाई कालो झण्डा प्रदर्शन गर्ने सरकारी कार्यालयहरुमा कोशीको बोर्ड, छाप र लेटरप्याड हटाउने, मेटाउने अभियानलाई भने निरन्तरता दिने निर्णय भएको छ ।

यस्तै नामाङ्कन संयुक्त संघर्ष समिति गठन गर्न बाँकी रहेका जिल्ला, पालिका, वडा देखि टोलटोलसम्म गठन गर्ने, कोशी नाम खारेजीका विषयमा प्रशिक्षण र जनता जागरणका लागि केन्द्रीय नेताहरु गाउँगाउँ जाने, कोशी नाम विरुद्धको विरोध कार्यक्रम जिल्ला, पालिका, गाउँगाउँमा गर्ने बैठकको निर्णय छ ।

वैशाख ११ देखि २१ गतेसम्म संयुक्त संघर्ष समिति सबै ठाउँमा गठन गरिसक्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार