Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीका सामाजिक विकासमन्त्री राजभण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित



विराटनगर : कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी राष्ट्रिय पुरस्कार २०८० बाट सम्मानित भएका छन् । दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गले मन्त्री राजभण्डारीलाई राजभण्डारी राष्ट्रिय पुरस्कारद्धारा सम्मान गरेको हो ।

राजनीतिमा संलग्न रही सामाजिक, शैक्षिक, पर्यटन, उर्जा, स्वास्थ्य लगायतका क्षेत्रको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका मन्त्री राजभण्डारीलाई ट्रष्टले राजनैतिक बाहेकका क्षेत्रहरु रेडक्रस, सामाजिक संघसंस्था, धार्मिक एवं साँस्कृतिक क्षेत्रमा समेत योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

राजभण्डारी भक्तपुरबाट बाग्लुङ्ग पुगेको २१८ औं बर्ष गाँठको अवसरमा ट्रष्टका तर्फबाट मन्त्री राजभण्डारीलाई सम्मान पत्र सहित नगद २५ हजार तथा दोसल्ला ओढाई सम्मान गरेको अध्यक्ष काजी रोशनले जानकारी दिए ।

२०७८ मा स्थापना भएको ट्रष्टले हरेक बर्ष राष्ट्रका बिभिन्न क्षेत्रमा उल्लेखनिय टेवा पुर्याउने राजभण्डारीहरुलाई सम्मान गर्दै आएको संरक्षक रामकुमार राजभण्डारीले जानकारी दिए ।

यसैबिच मन्त्री बुद्धिकुमार राजभण्डारीले दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गलाई ५० हजार रुपैंया सहयोग गरेका छन् । राष्ट्रिय पुरस्कार अन्र्तगत सम्मान स्वरुप प्राप्त भएको २५ हजार नगदमा आफ्नो तर्फबाट पुनः २५ हजार रुपैंया थप गरी ट्रष्टको थप ब्यवस्थापन र अन्य सामाजिक कार्यका लागि ५० हजार ट्रष्टलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार