Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा एसईईका नक्कली परीक्षार्थी: एक लाख जरिवाना र कैद सजाय हुन सक्ने


  • Purbeli Press
  • बिहिबार, चैत्र २३ २०७९

सांकेतिक तस्बिर।

विराटनगर : बुधबार मोरङको ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयबाट एसइईको परीक्षा दिइरहेकी २८ वर्षीया सुस्मिता लिम्बूलाई प्रहरीले नियन्त्रणमा लियो । उनलाई अर्काको नाममा परीक्षा दिएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनी नक्कली परीक्षार्थी भएको पुष्टि भएपछि बिहीबार थप अनुगमन बढाइयो। अनुगमनका क्रममा ठुलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परे। आज मोरङमा १९९ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार बिहीबार सबैभन्दा बढी सार्वजनिक मावि केराबारीबाट १२७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। यस्तै सरस्वती मावि ग्रामथानबाट ५२ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन्।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले पक्राउ परेका नक्कली परीक्षार्थीहरु सम्बन्धित विद्यार्थीका नातेदार भएको बताए । ‘पक्राउ पर्नेहरुमा अधिकांश सम्बन्धित विद्यार्थीका नातेदार छन्,’ उनले भने, ‘कोही आफन्त, कोही साथी छन्, सबै नजिकका चिनजानका मान्छे छन्।’

यति धेरै नक्कली परीक्षार्थी पक्राउ पर्ने कारणका बारेमा जिज्ञासा राख्दा उनले प्रष्ट भनेन्। तर भाषा शिक्षण गराउने र ट्युसन सेन्टरहरु अत्याधिक भएको जिल्ला भएका कारण मोरङमा धेरै नक्कली परीक्षार्थी देखिएको उनको भनाइ छ।

उनले एउटा विद्यार्थीको नाममा अर्को विद्यार्थी गएर परीक्षा दिने कुरा शिक्षाको जटिल विषय भएको बताए। उनले अन्य ठाउँ, अन्य जिल्लामा पनि यस्ता नक्कली परीक्षार्थी हुन सक्ने आशंका ब्यक्त गरे। ‘अरु जिल्लामा पनि नक्कली परीक्षार्थी फेला पर्लान्, तर त्यसको लागि छानविन गर्ने, अनुसन्धान गर्ने आँट सहास गर्नुपरो नि’ गौतमले भने।

यस्तै मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले नक्कली विद्यार्थीहरुमाथि अनुसन्धान भइरहेको बताए। उनले अर्काको नाममा जाँच दिन नपाउने कुरा शिक्षा ऐनमै निषेध गरिएको बताउँदै पक्राउ परेकाहरुको परीक्षा स्वत रद्ध हुने बताए।

शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली–२०५९  मा अरुको नाममा परीक्षा दिनेलाई १ लाखसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने ब्यवस्था छ। नक्कली परीक्षार्थीहरुलाई यही ऐन अन्तरगत कार्वाही हुने दाहालले बताए।

माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि मोरङबाट १८ हजार एक सय १२ जना विद्यार्थी सहभागी छन्। जिल्लाभर ७१ वटा परीक्षा केन्द्रमा ७१ जना केन्दाध्यक्ष रहेका छन्। सहायक केन्द्राध्यक्ष ११६ जना रहेका छन् भने परीक्षाका लागि ९३७ जना निरीक्षक खटिएका छन् ।

नियमिततर्फ १७ हजार २ सय ९५, प्राविधिक धारतर्फ ६ सय ४४, ग्रेडवृद्धि १ सय ७३, नियमित खुल्लातर्फ एक हजार ३२ गरी १८ हजार एक सय १२ जना परीक्षार्थी एसइई परीक्षामामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ।

मोरङका १७१ वटा समाुदायिक र २२३ वटा संस्थागत गरी ३९४ वटा शैक्षिक संस्था एसइई परीक्षामा सामेल भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार