Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आफ्नै निर्णयविरुद्ध उभियो माओवादी, कोशी प्रदेश नामकरणमा गल्ती भएको ठहर



विराटनगर : कोशी प्रदेश नामकरणको विषयलाई लिएर नेकपा माओवादी केन्द्रले दोहोरो चरित्र देखाएको छ । कोशी प्रदेश नामकरण गर्न मतदान गरेको माओवादीले त्यसबेला पार्टीका तर्फबाट गल्ती भएको प्रष्टीकरण दिएको छ ।

बुधबार माओवादी केन्द्रको पेरीसडाँडामा बसेको पदाधिकारी बैठकले कोशीमा नामकरण गर्ने विषयमा पार्टीको तर्फबाट कमजोरी भएको स्वीकारेको हो ।

बैठकको निर्णयको जानकारी दिँदै माओवादीका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले माओवादी सधैँ पहिचानको पक्षमा रहेको बताए । उनले भने, ‘कोशी प्रदेश नामकरण भयो । त्यो विषयमा आन्दोलन भइरहेको छ । हाम्रो पार्टी स्पष्ट रूपमा पहिचानकै पक्षमा छ ।’

नामकरण गर्ने बेला पार्टीले पहिचानको पक्षमा अडान नराखेर कमजोरी गरेको उनको भनाइ छ ।

माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको महराले बताए ।

कोशी प्रदेशमा सभामुखसहित माओवादीका १३ सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार