विराटनगर : एनआइसी एसिया बैंकले समयमा किस्ता रकम नबुझाएको भन्दै इटहरीका एक ऋणीको घरमा सुरक्षा गार्ड पठाएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाका विक्रम श्रीको घरमा बैंकले घरमा सुरक्षा गार्ड पठाएको हो ।
घरमा सुरक्षा गार्ड पठाएर ताकेता गरेको बैङ्कले ३५ दिने लिलामको सूचना समेत प्रकाशित गरेको छ । बैंकबाट लिएको ऋणको सावाँव्याज नतिरेपछि धितो राखेको घर जग्गाको लिलामीका लागि बैंकले सूचना जारी गरेको छ । सार्वजनिक सूचनासँगै घरको गेटमा सेक्युरिटी गार्ड पठाइएको विक्रमले बताए ।
पछिल्लो समयको आर्थिक मन्दी र काम गरेको पैसा नपाएको कारण विलम्ब भएको बिक्रमले बताएका छन् । उनी पूर्वका चिरपरिचित मूर्तिकार पनि हुन् ।
‘समयमा किस्ता बुझाउन नसक्दा बैङ्कले आफ्नो काम गरेको हो, यसमा मेरो गुनासो छैन, गार्डको राम्रो हेरदेख गरिदिएको छौँ ।, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘किस्ता बुझाउन खोज्दा खोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु, भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरूका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीका कारण यस्तो भएको हो ।’
उनले धेरैजना कर्मचारीबाट एकै दिन धेरै कल आएको र घर तथा कार्यक्षेत्रमा नै भेट गरी ताकेता गरिएको समेत बताउँदै लेखेका छन्, ‘सहानुभूतिभन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको बाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनुले सबैलाई दुःखित बनाएको छ ।’
उनले लेखेका छन् :
मेरो घर अगाडि उभिएको ड्युटी जवान “नेपाल प्रहरी” नभएर NIC Asia बैंकको सेक्युरिटी गार्ड रहेको जानकारी गराउदछु। केही व्यक्तिहरुले “विक्रमश्रि लाई घरमै ताला लगाएर नजरबन्द गरि प्रहरीले ड्युटी गरिरहेको” भन्ने भ्रामक खवर बजारमा फैलाएको थाहाभयो, फैलाउने र बैंक लाई उक्साउने ब्यक्तिको पहिचान भइसकेको पनि जानकारी गराउदछु। समयमा किस्ता बुझाउन नसक्दा कठोर नियमवाला बैंकले आफ्नो काम गरेको हो, यसमा मेरो गुनासो छैन गार्डको राम्रो हेर देख गरिदिएको छौं। समयमा किस्ता बुझाउन प्रयासरत छु।
समयमा किस्ता बुझाउन खोज्दा खोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु , भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरुका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीजस्ता कारणले गर्दा हामी जस्ता स्वावलम्वी सिर्जनशील सर्जकहरुले सजिलो गरि बैंकलाई किस्ता बुझाउन सकि रहेका छैनौं। एकै दिन एकै पटक NIC मेरो बैंकले सात दिने, ३५ दिने र घर लिलामगर्ने पत्रीकामा छाप्ने तैयारीको सूचना को पत्र सहित घर अगाडि गार्ड राख्दा अनेकौं प्रश्न उब्जिएका छन। मलाई कालो सुची गर्नु सुझाव दिने आफन्त र कर्मचारीको बारेमा पनि ध्यानाकर्षण भएकोछ।
NIC को ताकेताबारे ऋणिहरुलाइ अवगतनैछ।धेरै जना कर्मचारीबाट एकै दिन धेरै कल आउनु, घर या कार्यक्षेत्रमा नै भेट गरि ताकेता गर्नु , भेट भएको रिपोर्ट भनी तस्वीर खिचेर लानु, प्रतिष्ठाको ख्याल नगरिनु, सहानुभूति भन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको वाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनु ले सबैलाई दुखित बनाएको छ, यसमा बैंकले आफ्नो स्लोगन ” बैंक पनि साथी पनि” सम्झनु पर्दछ।
यस्तो विषम परिस्थितिमा ब्याज मात्र लिइ दिएर सहयोगगरे ऋणदाता प्रति धेरै सद्भाव बढ्ने थियो।