विराटनगर : एनआइसी एसिया बैंकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणीको घरमा सुरक्षा गार्ड पठाएको छ।
दमक नगरपालिका–५ का दुर्गाप्रसाद कडेँलको घरमा ३ दिनदेखि बैंकले घरमा सुरक्षा गार्ड पठाएको हो।
हाल कडेँलको घरमा बैंकले धितो सुरक्षा गर्ने भन्दै दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म घरको दैलोमा सुरक्षा गार्ड राख्ने गरेको छ। आफूले व्यावसायमा समस्या आएकोले ३ महिना अगाडिदेखि बैंकमा साँवा ब्याज हाल्न नपाएको घरधनी कडेँलले बताए।
४ दिन पहिले बैंकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेकोमा आफुसँग भएको १० हजार रुपैँया लगेर भौचर हालेकोमा सोहि दिनदेखि बैंकले आफ्नो धितोको सुरक्षा गर्न भन्दै एकजना नियमित रुपमा सुरक्षागार्ड राखिदिने गरेको घरधनी कडेँलले बताए। बैंकबाट १ करोड रुपैया ऋण लिएकोमा अब साँबा ब्याज गरेर ९७ लाख तिर्न बाँकी रहेको कडेँलले बताए।
घरमा पाहुनाहरु आउँदा सुरक्षा गार्डले सलाम हान्ने गरेको बताउँदै आफ्नो समाज र आफन्तजनमा बेइज्यत गर्न खोजिएको कडेँलकी श्रीमती चन्द्रकलाले बताइन्।
बैंकले समयमा साँबा ब्याज नतिर्दा चिठ्ठी काट्ने, सूचना टास्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षाकर्मी पठाएर आफूहरुलाई बन्धक बनाउँदा स्वतन्त्रपुर्वक बाँच्न पाउने हकबाट बञ्चित गराएको कडेँल परिवारको गुनासो रहेको छ।
नेपाल राष्ट्रिय बैँकका सहयाक प्रवक्ता नारायणप्रसाद पोखरेल एनआईसी मात्रै नभएर कुनैपनि बैंकले यसरी ऋणीको घरमा सुरक्षा गार्ड राख्नु केद्रीय बैंकको नीति विपरित भएको बताए।
बैंकले आफ्नो सम्पत्तिको सुरक्षा र कर्जा असुलीका अन्य प्रकृया रहेको भन्दै घरमै सुरक्षा गार्ड पठाउनु बैंकको नीति विपरित भएको पोखरेलको भनाइ छ।
यता एनआइसी एसिया बैँकका दमक साखा प्रबन्धक तीर्थ प्रधानले दमकमा ऋणीको घरमा बैंकले सुरक्षागार्ड पठाएको बताउँदै यसको सम्पूर्ण जिम्मेवार बैंकको केद्रीय समितिले हेर्ने भएकाले किन सुरक्षा गार्ड पठाइयो भन्नेबारेमा आफूलाई जानकार नभएको बताए।