विराटनगर : खोटाङको हलेसी तुवाचुङ नगरपालिका ४ बडहरेस्थित लक्ष्मि माध्यामिक विद्यालय खोक्सेली परिक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ घर भएका २६ वर्षीय श्यामराज राईले आफ्नो सट्टामा परीक्षा दिन लगाएको भन्दै प्रहरीले सोही स्थानका २० वर्षीय राम राईलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ऋषिराम कंडेलले जानकारी दिए ।
कंडेलका अनुसार उनलाई प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
परीक्षा दिन लगाउने श्यामराज राई हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईका सवारी चालक हुन् । पक्राउ परेका राम राई र श्यामराज दुवै जना च्यास्मिटार माध्यामिक विद्यालयका विद्यार्थी हुन् ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको बताएको छ ।