Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनकुटामा एमालेबाट निर्वाचित वडा सदस्यले दिए पदबाट राजीनामा



विराटनगर : धनकुटामा एक जना निर्वाचित वडा सदस्यले पदबाट राजीनामा दिएका छन् । जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ९ का वडा सदस्य मनोजकुमार रायले राजीनामा दिएका हुन् ।

उनले आज नगर प्रमुख चिन्तन तामाङसमक्ष राजीनामा बुझाएका हुन् । रायको राजीनामा आएपछि आफूले राजीनामा स्वीकृत गरेको तामाङले जानकारी दिए ।

राय गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनी चुनावको मुखमा माओवादीबाट एमाले प्रवेश गरेका थिए ।

एमालेबाट वडा सदस्यमा निर्वाचित भएका रायले केहीसमय अघि मात्रै एमाले परित्याग गरेको घोषणा गरेका थिए । एमाले परित्याग गरी उनी पुनः माओवादीमा फर्किएका हुन् ।

राजीनामा पत्रमा उनले भनेका छन्, ‘प्रस्तुत बिषयमा म मनोय राय (सन्दिप) स्थानीय तह निर्वाचन २०७९ मा धनकुटा नगरपालिका वडा नं ९ बाट नेकपा एमाले पार्टीको तर्फबाट उम्मेद्वार भई वडा सदस्य पदमा निर्वाचित भएको र हाल विविध कारणले उक्त पदमा रहन नसक्ने भएको हनाले आजकै मितिबाट वडा सदस्य पदबाट राजिनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।’

धनकुटाका नगर प्रमुख तामाङले आफूले राजीनामा नदिनु भनेर सम्झाउँदा पोलटिकल कारण देखाउँदै रायले राजीनामा दिएको बताए । ‘मैले उहाँ (मनोज राय) लाई राजीनामा नदिनुस् भनेको थिए,’ उनले भने, ‘केही समयअघि मात्रै उहाँले एमाले छाड्नुभएको थियो । विभिन्न पोलटिकल कारण देखाउँदै राजीनामा दिएपछि मैले स्वीकृत गरिदिँए ।’

यस्तै वडा नम्बर ९ का वडा अध्यक्ष टंक प्रसाद रोइलाले आफूलाई राजीनामाको विस्तृत कारण थाहा नभएको तर रायले पार्टी परित्यागको कारण देखाउँदै राजीनामा दिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार