विराटनगर : राष्ट्रिय सहकारी दिवसको अवसरमा हरेक वर्ष प्रदान गरिने उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार यस वर्ष सहकारी अखबार डटकम कोशी प्रदेशकी संवाददाता चीना थापालाई प्रदान गरिने भएको छ ।
६६ औं राष्ट्रिय सहकारी दिवस मूलसमारोह समितिको केहिदिन अगाडि बसेको बैठकले उक्त निर्णय गरेको हो ।
दिवस मूल समारोह समितिका संयोजक तथा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलका अनुसार पुरस्कारको राशि ५ हजार १ सय रुपैया रहेको छ । पुरस्कार चैत्र २० गते सहकारी दिवसको दिन प्रदान गरिने पोखरेलले जानकारी दिए ।
कोशी प्रदेशका प्रदेश प्रमुख पुर्शराम खापुङको प्रमुख आतिथ्यतामा विराटचोकमा हुने कार्यक्रममा पत्रकार थापासँगै यो बर्षको सहकारी व्यक्तित्व पुरस्कारबाट रंगेली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद मेहेता र केराबारी सामुदायिक सहकारी ंसस्थाकी विन्दा श्रेष्ठ तामाङलाई प्रदान गर्ने भएको छ ।
सहकारी संघले हरेक वर्ष मोरङलाई कार्यक्षेत्र बनाएर सहकारीको क्षेत्रमा कलम चलाउने एक जनालाई पुरस्कृत गर्दै आएको छ । यसअघि पत्रकार नरेन्द्र दाहाल, महेन्द्र विष्ट, मिन कुमार नवोदित, सुशिला पाठक, नविन कर्ण, केदार चौहान, भुपेन्द्र तिम्ल्सिना र नेत्र पी अधिकारी पुरस्कृत भइसकेका छन् ।