विराटनगर : झापाको दमक नगरपालिकामा पनि कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधरले तालाबन्दी गरेका छन् । मंगलबार बिहान दमक नगरपालिका कार्यालय पुगेर उनीहरुले ताला लगाएका हुन् ।
ताला लगाउने क्रममा पहिचान पक्षधर र प्रहरीबीच झडपसमेत भएको छ । झडपमा परी पहिचान पक्षधरका केही प्रदर्शनकारीहरू सामान्य घाइते भएको बताइएको छ ।
पहिचानवादीहरुले नगरपालिकामा ताला लगाएर फर्किएपछि प्रहरीले ताला फुटाएको थियो । प्रहरीले ताला फुटाएपछि पहिचान पक्षधरहरू पुनः ताला लगाउन नगरपालिका प्रवेश गरेपछि दुई पक्षबीच झडप भएको हो ।
प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारीहरूले ढुङ्गामुढा प्रहार गर्दा नगरपालिकाको झ्यालका सिसीहरू फुटेको छ ।
जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार अहिले दमक नगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिएकोर स्थिति सामान्य भएको छ ।
यसअघि प्रदर्शनकारीहरुले मोरङको उर्लाबारी नगरपालिकाको प्रवेशद्वारमा पनि तालाबन्दी गर्दै एक जना वडाअध्यक्षमाथि कुटपिट गरेका थिए ।
आजै कोशी प्रदेशको राजधानी विराटनगरमा पनि पहिचानवादी र प्रहरीबीच झडप हुँदा एक दर्जन बढी घाइते भएका छन् ।