Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशका गाउँगाउँमा मिसन ग्रासरुट



विराटनगर : नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीले मिसन ग्रासरूट अभियानको मध्यावधि समिक्षा बैठक सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष शंकर कटवालको अधक्ष्यतामा, पार्टीका केन्द्रीय सचिव तथा ग्रासरुट कोशी प्रदेशका अनुगमन संयोजक टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा समिक्षा बैठक सम्पन्न भएको हो ।

उक्त बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम, केन्द्रीय सदस्यहरु उषाकला राई, बिनोद ढकाल, पर्शुराम अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

उक्त बैठकले आगामी दिनमा मिसन ग्रासरूट कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने निर्णय भएको जिल्ला अध्यक्ष कटवालले जानकारी दिए ।

सुनसरीमा अभिमुखिकरण कार्यक्रम
यस्तै सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ कमिटिले पार्टी सदस्यहरूका लागि पार्टी सुदृढीकरण र विस्तार अभियान बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीश प्रसाद कुसियैतले कार्यकर्ताहरुलाई प्रशिक्षण गराएका थिए ।

धनपालथानमा सदस्यता वितरण
मोरङको धनपालथानमा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानले तीव्रता पाएको छ । सोमबारबाट धनपालथानको १ नम्बर वडामा विस्तारित बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा पार्टी सदस्यता वितरण अभियान पनि सुरु भएको छ ।


यस्तै मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकामा पनि सवल एमाले बनाउँने हाम्रो अभियान भन्ने नाराका साथ मिसन ग्रासरुट अभियान चलिरहेको छ । पार्टीका केन्द्रीय प्रतिनिधि विशाल भट्टराईको उपस्थितिमा विराटनगर र बुढीगंगामा दिनहूँ कार्यक्रम सञ्चालन भइरहेका छन् ।

विराटनगरको १९ र १० नम्बर वडा तथा बुढीगंगाको वडा नम्बर १ र  ३ मा टोलस्तरीय कमिटी निर्माण, प्रशिक्षण, भेला तथा बिस्तारित बैठक सम्पन्न भएको एमाले पोलिट्ब्यूरो सदस्य विशाल भट्टराईले जानकारी दिए ।

यस्तै संखुवासभामा मिसन ग्रासरुट अभियान अनुगमन तथा प्रशिक्षण सम्पन्न भएको छ । सोमबार नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य विनोद ढकाललगायतको उपस्थितिमा संखुवासभाको प्रदेश निर्वाचन क्षेत्र (ख) मा मध्यावधि समिक्षा तथा बृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार