Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियुले लगायो ताला



विराटनगर : विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गैर जिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइएपछि तालाबन्दी गरेको अनेरास्ववियुका नेता भाष्कर खनालले जानकारी दिए ।

क्याम्पस प्रशासनले व्यक्तिगत रुपमा विद्यार्थीहरुलाई नेविसंघमा भोट हाल्नका लागि धम्की दिन थालेपछि अनेरास्ववियु त्यसको प्रतिकारमा उत्रेका खनालले जानकारी दिए । क्याम्पस प्रशासनले विद्यार्थीहरुमा गैरजिम्मेवार तरिकाले भोट मागेको उनले बताए ।

उनले भने, ‘क्याम्पस प्रशासन जस्तो जिम्मेवार तहबाट नै नेविसंघका उम्मेदवारलाई भोट हाल्नु भनि धम्कीपूर्ण निर्देशन आइरहेको थाहा पाएपछि तालाबन्दी गरेका हौँ ।’

बिना कारण नेविसंघले पराजित मानसिकता बोकेर नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको र महेन्द्र मोरङमा क्याम्पस प्रशासनदेखि निर्वाचन समितिले लापरबाहीपूर्ण काममा लागेपछि तालाबन्दी गरेको अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले बताए । नेविसंघले शुक्रबार नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको थियो ।

अनेरास्ववियुले महेन्द्र मोरङमा मतदाता नामावली छानविन गर्नुपर्ने, क्याम्पस प्रशासनले आचारसंहितको धज्जी उडाउँदै विद्यार्थीलाई अनेरास्ववियुमा भोट नहाल्न उर्दी जारी गरेको विषयमा छानविन गर्न माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार