विराटनगर : मोरङको विराटनगरमा रहेको तुलसी बहुुउद्धेश्यीय सहकारी संस्थाका तीन जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताले जम्मा गरेको ठूलो रकम हिनामिना गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा संस्थाकी उपाध्यक्ष अनिता गौतम, सचिवका सविना न्यौपाने र क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् ।
२०५२ सालमा स्थापना भएको उक्त सहकारी विराटनगरको सबैभन्दा ठूलो सहकारी हो । तर, फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भन्दै सेयर सदस्यहरुले जाहेरी दिएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।
संस्थाका अन्य ५ जनालाई प्रहरीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बचतकर्ताले संस्थाका ८ जनाविरुद्ध जाहेरी दिएका थिए ।
सहकारीका सञ्चालकहरु नै फरार भएपछि उनीहरुले फागुन २८ गते १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रूपैया बराबरको रकम ठगी भएको भन्दै ८ जनाविरुद्ध उजुरी दिएका थिए ।
सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलले उक्त सहकारीमा २१ हजार ७१३ सदस्य रहेको बताए । विराटनगरमा मात्र ४ हजार बढी सदस्य रहेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।
विराटनगरमा मुख्य कार्यालय भएको सकहारीले झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा ३ वटा सेवा केन्द्रमार्फत कारोबार गरेको पनि प्रहरीले जनाएको छ ।