विराटनगर : आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थी संगठनहरुले तीव्र तयारी थालेका छन् । करिब ६ वर्षपछि मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।
स्ववियु चुनावलाई राजनीतिक दलको नेतृत्व विकासको जगसमेत मानिन्छ । क्याम्पसमा १९ फाल्गुनदेखि स्ववियु निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । विद्यार्थी संगठनहरुले क्याम्पसमा ५ वटा दल दर्ता गरिसकेका छन् ।
निर्वाचन प्रक्रिया सुरु भएसँगै विद्यार्थी संगठन र नेताहरुले क्याम्पसको नेतृत्व हात पार्न रस्साकस्सी सुरु गरेका छन् ।
विद्यार्थी संगठनहरु निर्वाचनको तयारीमा लागिसकेका छन् । विगतका निर्वाचन हेर्ने हो भने उर्लाबारी क्याम्पस अनेरास्ववियुको पडक मानिन्छ ।
सबैभन्दा बढी विद्यार्थी आबद्ध रहेका र राजनीतिक गतिविधिका आधारमा ठूलो उर्लाबारीमा अनेरास्ववियु ठूलो दल मानिन्छ ।
अनेरास्ववियुबाट स्ववियु सभापतिका लागि हालसम्म ६ विद्यार्थी नेताले आकाङ्क्षा देखाएका छन् । अनेरास्ववियु उर्लाबारी क्याम्पस कमिटीका अध्यक्ष गौतमबुद्ध तामाङ, उपाध्यक्षद्वय रिकेश दाहाल र नितेश तिम्सिना, जिल्ला कमिटी सदस्य प्रीती दाहाल, उर्लाबारी नगर अध्यक्ष तथा जिल्ला सदस्य भुवन मग्रांती र रमेश बरालले आफ्नो दाबेदार प्रस्तुत गरेका छन् ।
दाबेदार प्रस्तुत गरेपनि टिकट नपाएको खण्डमा एकले अर्कालाई सहयोग गरेर जाने उनीहरूले बताएका छन् । स्ववियु निर्वाचनका लागि आफ्नो संगठन पुर्णरुपले तयार रहेको अनेरास्ववियुका क्याम्पस अध्यक्ष तामाङले बताए । उनले निर्वाचनको तयारीमा लागेको पनि जानकारी दिए । क्याम्पस अध्यक्ष भएकाले आफ्नो दाबी स्वभाविक हुने उनको भनाइ छ ।
यस्तै शालिन र इमानदार नेताको छवि बनाएका रिकेश दाहाल विद्यार्थीको हक हितको काम गरेर स्थापित भएका नेता मानिन्छन् । लामो समयदेखि अनेरास्ववियुमा आवद्ध रहेका दाहाल विद्यार्थीमाझ लोकप्रिय छन् ।
आफू लामो समयदेखि नै क्याम्पसको हरेक गतिविधि र विद्यार्थीको समस्या उठाउँदै आएकाले आफ्नो दाबी स्वभाविक भएको दाहाल बताउँछन् । उनी भन्छन्, ‘अनवरत रूपमा लामो समयदेखि योगदान गरिरहेको छु। त्यसैले मेरो उम्मेदवारमा दाबी स्वाभाविक रूपमा रहन्छ।’ शैक्षिक उन्नयनका लागि आम विद्यार्थीको माझ रहेर काम गरिरहेको उनको दाबी छ ।
क्याम्पसलाई सक्षम, सबल, आत्मनिर्भर र विश्व समुदायमा अब्बल दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रूपमा स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी रहने दाहालको भनाइ छ ।
विद्यार्थीमाझ परिचित र लोकप्रिय मानिएका अर्का नितेश तिम्सिनालाई बलियो दाबेदारका रुपमा हेरिएको छ । उनी आफू विद्यार्थीमाझ रहेर उनीहरुको समस्या हल गर्न लागिरहेको बताउँछन् ।
क्याम्पसका हरेक गतिविधिमा संलग्न हुँदै आएका मग्रांती पनि क्याम्पसमा लोकप्रिय छन् । उनी अनेरास्ववियुका जिल्ला कमिटी सदस्य पनि हुन् ।
रमेश बराल पनि पछिल्लो समय विद्यार्थीमाझ लोकप्रिय छन् ।
यस्तै सभापतिकि आकाङ्क्षी प्रीति दाहाल समानताको मुद्दालाई यथार्थ बनाउने लक्ष्यलाई आत्मसात गर्दै सभापतिमा आफ्नो दाबी रहेको बताउँछिन् । शिक्षामा रहेका अनेक समस्याहरूको समाधनमा निरन्तर आवज बुलन्द गरेर हालसम्म भएका शैक्षिक विकास, शैक्षिक सुधारको आधार देशभरका शैक्षिक संस्थालाई बनाउनुपर्छ भन्ने विचारका साथ आफू अघि बढीको उनको तर्क छ ।
नेपाल विद्यार्थी संघले भने विवेक कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनी पनि विद्यार्थीमाझमा परिचित नेता हुन् ।
स्ववियु निर्वाचनका लागि पाँच विद्यार्थी संगठनले क्याम्पसमा संगठन दर्ता गराए पनि अनेरास्ववियु र नेविसंघ नै मुख्य प्रतिस्पर्धी रहेको विद्यार्थीहरूको बुझाइ छ ।