Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा पनि नेविसंघको विवाद: उर्लाबारीमा सांसदका स्वकीय सचिवमाथि कांग्रेस नेताद्वारा हातपात



विराटनगर : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघमा देखिएको गुटगत विवाद काठमाडौंदेखि मोरङमा सरेको छ ।

मोरङको उर्लाबारीमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा आइतबार कांग्रेसको दुई समूहबीच झडप भएको छ । नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो र उनको समुहले क्याम्पस परिसरमै प्रवेश गरेर केही विद्यार्थीहरुमाथि सांघातिक आक्रमण गरेको छ ।

क्याम्पसमा नेविसंघको इकाई समिति गठनको तयारी भइरहेको समयमा फागोसहित उनको समूहले साजन कुवर, पोषणजंग आचार्य र संजोग भण्डारीमाथि कुटपिट गरेको छ ।

कुवरका अनुसार समिति गठनको तयारी भइरहेको बेला फोगोको समूह एक्कासी क्याम्पस प्रवेश गरेर कुटपिट गरेको हो ।

फागो समुहको आक्रमणका कारण केहीबेर क्याम्पस परिसर तनाबग्रस्त बनेको थियो । विद्यार्थीमाथि कुटपिट भएपछि क्याम्पस प्रशासनले सोमबार विद्यालय बन्दको घोषणा गरेको छ ।

कुँवर कांग्रेस मोरङका सभापति एवं सांसद डिगबहादुर लिम्बूका स्वकीय सचिव हुन् ।

फागोको समूहले क्याम्पस समिति गठन गर्न नदिने नियतबसले विद्यार्थीमाथि आक्रमण गरेको नेविसंघ उर्लाबारीका एक नेताले बताए । ती नेताले भने, ‘उनीहरूले कार्यक्रम रोक्न दबाब दिए तर स्ववियु निर्वाचन आइसकेको र त्यसको तयारीका लागि क्याम्पसमा इकाई समिति गठन गर्न प्रतिनिधि तोकिएका नेविसंघ मोरङका उपसभापति कृष्ण श्रेष्ठसहितको उपस्थितिमा गठनको तयारी भइरहँदा फागोको समूहले गुन्डागर्दी शैलीमा आक्रमण गरेको छ ।’

फागोसहित उनका ज्वाइँ नाता पर्ने प्रेम लिम्बू, भतिजा कमानसिंह फागो तथा दुर्गा फागोलगायतले उनीहरूमाथि कुटपिट गरेको ती नेताले बताए ।

पीडित विद्यार्थीहरुले फागो समुहविरुद्ध कानुनी उपचार खोज्ने तयारीमा रहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार