विराटनगर : नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियान विराटनगर महानगरपालिकामा तीव्ररुपमा चलिरहेको छ । अभियानका क्रममा भूमिगत कालमा पार्टीका नेताहरूलाई सेल्टर दिने सेल्टर दाताहरूको खोजी अभियान शुरु भएको छ ।
विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाका अनुसार महानगरपालिकाभित्र बसोबास गर्ने सेल्टरदाताहरूलाई सम्मान गर्न खोजी अभियान शुरु गरिएको हो ।
विभिन्न जिल्लाबाट आएर विराटनगरमा बसोबास गरेका सेल्टरदाताहरू पार्टीमा नजोडिसकेकाले पार्टी र नेतालाई अफ्ठेरो अवस्थामा सहयोग गर्नेहरूलाई पार्टीले खोजीखोजी सम्मान गर्ने थापाले बताए ।
यस्तै महानगर पालिकामा बस्ने सबैभन्दा बढी कर तिर्नेहरूलाई पनि महानगर कमिटीले सम्मान गर्ने भएको छ । यसका लागि पार्टीले बढी कर तिर्नेहरूको नामावली सङ्कलन गर्न थालेको थापाले जानकारी दिए ।
मिसन ग्रासरुटका लागि विराटनगरमा फोकल पर्सनका रुपमा नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य विशाल भट्टराई खटिएका छन् ।