विराटनगर : प्रदेश १ को नाम कोसी प्रदेश भएसँगै जनता समाजवादी पार्टी (जसपा) ले आपत्ति जनाएको छ । प्रदेश अध्यक्ष दीपक याक्खाले विज्ञप्ति जारी गर्दै नामकरणको विरोध जनाएका हुन् ।
प्रदेशको नाम कोसी हुनुपर्छ भनेर कहीँ कतै आन्दोलन नभएको र बसैले कतैबाट नचाहेको नाम जबरजस्ती थोपर्नु न्यायोचित नहुने जसपाको भनाइ छ । ‘कोसी प्रदेश हुनुपर्छ भनेर कहीँ कतै आन्दोलन भएन । कहीँ कतैबाट नमागेको नाम जबरजस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ ?’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जसपाले प्रदेशको नाम ऐतिहासिक थाकथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी राख्नुपर्ने अडान राखदै आएको थियो । पार्टीले प्रदेशको नाम लिम्बुवान किराँत शेर्पालुङ हुनुपर्ने बताउँदै आएको थियो ।
नामकरण जस्तो विषय ऐतिहासिक पहिचानको आधारमा हुनुपर्ने र नभएसम्म बालिदानीपूर्ण संघर्षका लागि होमिन बाध्य हुने अध्यक्ष याक्खाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै प्रदेशको नामकरणका लागि बुधबार राति भएको मत विभाजनमा जसपा सांसद निर्मला लिम्बू सहभागी हुन नपाएपछि पार्टीले मत दिन बञ्चित गरिएको भन्दै यस बारेमा सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत माग गरेको छ । मत विभाजनका समयमा ढिला गरी पुगेपछि लिम्बू मतदान गर्नबाट बञ्चित भएकी थिइन् ।