विराटनगर : विराटनगरस्थित सिटी अस्पतालमा उपचाररत मोरङको जहदा गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया सज्जा कुमारी मेहताको मृत्यु भएको छ ।
किड्नीको पत्थरीया भएपछि उनी आइतबार अस्पताल भर्ना भएकी थिइन् । मृतकका भाई दिलीपकुमार मेहताले अस्पतालका चिकित्सकको लापरबाहीले दिदीको ज्यान गएको आरोप लगाएका छन् ।
एनेस्थिसियाको सुई लगाएपछि दिदीको मृत्यु भएको उनले बताए । उनले भने, ‘आइतबार दिदीलाई किड्नीको पत्थरीयाको उपचारका लागि सिटी अस्पताल लगेका थियौं । एनेस्थिसियाको सुई लगाएपछि बिरामीको मृत्यु भयो ।’
अस्पतालले बिरामीको मृत्यु भएपछि आफूहरुलाई जानकारी नगराई ढाकछोप गर्न खोजेको परिवार पक्षको आरोप छ ।
यता अस्पतालका डाक्टर सुनिल कुमार यादवले भने बिरामीको पूरानो रोगका कारण मृत्यु भएको बताए । उनका अनुसार सज्जा पहिलादेखि नै मुटुको बिरामी थिइन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु नभएको भन्दै यादवले बचाउने प्रयास गर्दा पनि बचाउन नसकेको बताए ।
परिवार स्रोतका अनुसार अस्पतालले बिरामीको मृत्यु भएपछि राति नै डिस्चार्ज गरेर लाख घर पठाउन लागेको थियो ।
बिरामीको मृत्यु भएसँगै उनका आफन्तले सोमबार बिहानैबाट अस्पताल परिसरमा धर्ना दिइरहेका छन् । पीडित पक्षले उचित क्षतिप्रर्ति दिनुपर्ने र कारबाही गर्न माग गरेका छन् ।