उदयपुर : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज राजेन्द्र गौतमले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुबासचन्द्र नेम्वाङ विजयी हुने दावी गरेका छन् । प्रेस चौतारी नेपाल उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौतमले देशमा स्थायित्व कायम गर्नका लागि नेम्वाङको जीत आवश्यक रहेको बताए ।
नेकपा माओवादीले एमालेलाई राष्ट्रपति दिने पूर्व सहमति तोडेपछि एमाले पर्ख र हेरको अवस्थामा रहेको उनको भनाई छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने कुरा फाल्गुन २५ ले निर्धारण गर्ने उनले बताए ।
यस्तै उनले नेकपा एमालेले सुरु गरेको दुई महिने मिसन ग्रासरुट अभियानले मूलुकमा स्थायित्व कायम गर्न सहयोग पुग्ने बताए । उनले भने, ‘यो अभियान देशमा देखिएको राजनीतिक अस्थिरताको अन्तयका लागि सुरु गरिएको हो, यसले एमालेलाई बलियो शक्तिका रुपमा स्थापित गर्नेछ ।’
अभियानमा सदस्यता विस्तार, नविकरण, बैठक, अन्तरक्रिया, प्रशिक्षण, पार्टी सञ्चालन सम्बन्धि अनुशिक्षण, विकासका योजना, महाधिवेशनको कार्यदिशा लगायतका ११ विषयवस्तु लिएर जनताको घरघरमा पुगेर उनीहरुसँग प्रत्यक्ष संवाद गर्ने एमालेले तयारी गरेको उनले बताए ।
पछिल्लो समय पार्टीमा अराजक प्रवृति मौलाउँदै गएको र त्यस्त समस्याको न्यूनिकरण गर्न मिसन ग्रासरुट फलदायी हुने उनले विश्वास व्यक्त गरे ।